मधेशका मुख्यमन्त्री यादवको नियुक्तिविरुद्धको रिटमा मंसिर १ गतेका लागि पेशी तोकियो


काठमाडौं, ३० कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ सरेको छ । अन्तरिम आदेशको छलफलका लागि आज (आइतबार) न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएकोमा सुनुवाइ भोलि (मंसिर १ गते) का लागि सारिएको हो । सो रिटमा यसअघि न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ माग गर्ने आदेश दिएको थियो ।

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेश प्रदेशका ७४ जना सांसदहरूले रिट दायर गरेका हुन् । तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नेपालको संविधानको धारा १६८ (३)बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिईन् । मुख्यमन्त्रीको नियुक्ति संविधानविपरीत रहेको भन्दै मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न सात दलहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

‘लिखित जवाफ प्रतिनिधित्व महान्यायाधिवक्ता कार्यालयमार्फत् हुनुपर्नेमा सो सम्बन्धी प्रतिनिधित्वको सम्बन्धमा फरक बेहोरा उल्लेख गएकाले निवेदक र विपक्षीको हकमा लिखित जवाफ पेश गर्न प्रतिरक्षा महान्यायाधिवक्ताको कार्यालय मार्फत् हुनुपर्ने देखिदा तोकिएको अन्तरिम आदेश छलफल समेतमा प्रदेश प्रमुखको हकमा उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिइ अन्तरिम आदेश छलफलका लागि मंसिर १ गते पेशी तोकि नियमानुसार पेश गर्नु,’– आदेशमा भनिएको छ ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको अवस्थामा पुनः संविधानको धारा १६८ (२) बमोजिज बहुमतको सरकार गठन हुनुपर्ने उनीहरुको माग रहेको छ ।