प्रधानमन्त्री कार्की नेतृत्वको सरकार कसको र कसले बनाएको भन्ने प्रष्ट नरहेको ओलीको टिप्पणी, दिए ‘बेवारिसे’ को संज्ञा


काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई बेवारिसे सरकारको संज्ञा दिएका छन् । आज (आइतबार) प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँग संवाद गर्दैै ओलीले प्रधानमन्त्री कार्की नेतृत्वको सरकार कसको र कसले बताएको हो भन्ने प्रष्ट नरहेको बताएका हुन् ।

प्रधानमन्त्री कार्की नेतृत्वको सरकार संविधानबाट नबनेको, संसद्बाट पनि नबनेको र जेन–जीहरुबाट पनि नबनेको बताउँदै ओलीले भने, ‘यो सरकार कसको प्रतिनिधि हो ?जेन–जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ ।’

पूर्वृ प्रधानमन्त्रीसमेत रहेका ओलीले संविधानमा यस्तो प्रकारको सरकार बनाउने व्यवस्था नै नरहेको दाबी गरे । वर्तमान सरकारले गत भदौ २४ गतेको तोडफोड र आगजनीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको उनले बताए । सरकार आफैंले समूह खडा गरेर केपी ओली, रमेश लेखकलगायतलाई पक्राउ गर्नुपर्यो भनेर ज्ञापनपत्रको ड्राफ्ट खडा गर्न लगाएको उनको आरोप छ । उनले भने, ‘कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्‍यो भन्न लगाएको छ । सरकारले आफैं यस्ता समूहहरू खडा गरेर,आफैं ज्ञापनपत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।’

अध्यक्ष ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउनका लागि प्रतिनिधिसभा पुनर्स्थापना एक मात्रै विकल्प रहेको बताए । File photo/RN