एमाले जनताको ‘म्यान्डेट’ मा विश्वास गर्ने दल हो, चुनावबाट भाग्दैनौंः महासचिव पोखरेल


काठमाडौं, १ मङ्सिर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले कहिल्यै चुनावबाट नभाग्ने बताएका छन् । उनले आफ्नो पार्टी सबैभन्दा बढी जनताको ‘म्यान्डेट’ मा विश्वास गर्ने दल भएको दाबी गरे ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरको कार्यक्रममा महासचिव पोखरेलले फागुन २१ का लागि घोषित निर्वाचन गराउन सरकारको काम र क्रियाकलाप चुनाव केन्द्रित हुनुपर्ने तर त्यसो नदेखिएको बताए । उनले देशले सामना गरिरहेको राजनीतिक सङ्कट समाधानको सबैभन्दा उचित उपाय संसद् पुनर्स्थापना रहेको जिकिर गरे ।

महासचिव पोखरेलले निर्वाचनका लागि सरकारले राजनीतिक दलसँग पर्याप्त छलफल र संवाद गरेर राजनीतिक सहमतिको ‘म्यान्डेट’ सहित संविधान अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । ‘चुनावमा महत्त्वपूर्ण भूमिका भएको प्रहरीको हतियार खोसिएका छन् । फरार कैदीबन्दी र लुटिएका हतियारका कारण समाज त्रसित छ । जसले गर्दा प्रहरी र नागरिकको मनोबल कमजोर छ । प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कदासम्म चुनाव सम्भव कसरी हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।

देशलाई संवैधानिक बाटोमा हिँडाउनको लागि प्रतिनिधिसभा पुनर्संस्थापना, संविधान संशोधन गरेर युवाका माग सम्बोधन गरी ‘अर्ली’ चुनावमा जान सकिने महासचिव पोखरेलको धारणा थियो । भदौ २३ र २४ का घटनालाई नियोजित षडयन्त्रको उपज भन्दै उनले त्यसको तथ्यगत छानबिन हुनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले विचारका आधारमा मुलुक धुव्रीकृत नहुँदासम्म देशमा अस्थिरता रहिरहने बताए । उनले आगामी महाधिवेशनले सहमतिकै आधारमा सक्षम नेतृत्व चयन गर्नेसमेत बताए । ‘पार्टीको नीति र विचारका विषयमा दोस्रो विधान अधिवेशनले टुङ्गो लगाइसकेको छ । जेनजी प्रदर्शनका विषयमा पनि केन्द्रीय समितिमा पर्याप्त छलफल भएर पार्टीले धारणा सार्वजनिक गरिसकेको छ । अब आगामी महाधिवेशनले सहमतिमै सर्वसम्मत नेतृत्व चयन गर्ने छ,’– उनले भने ।