जाँचबुझ आयोगलाई प्रहरीले टेरेन, खापुङमाथि कारबाहीको चेतावनीपछि मात्रै दिइयो लगत


काठमाडौं, २ मंसिर । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगलाई प्रहरीले असहयोग गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले भदौ २३ गते फिल्डमा खटिइएका प्रहरी कमाण्डरहरुको लगत माग्दा प्रहरी प्रधान कार्यालयले एक महिनासम्म नदिएको बताएका हुन् । तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङलाई ‘आयोगलाई असहयोग गरेको हो भने कारबाही गर्नुपर्ने हन्छ’ भनेर चेतावनी दिइएपछिमात्रै लगत पठाइएको उनले बताए ।

‘पहिला फिल्डमा खटिएकाहरुबाट के–के घटना भयो भन्ने बुझ्नुपर्छ । गोली जहाँ चल्यो नि, त्यहाँ खटिएका प्रहरीहरु, प्रहरी कमाण्डरहरु, प्रहरी कार्यालयबाट हतियार लुटिए । ती सबै बुझ्नुपर्छ । कहाँ–कहाँ को–को खटिइएका थिए प्रहरी कमाण्डरहरु भन्ने हामीले प्रहरी प्रधान कार्यालयबाट मागेका थियौं । त्यो प्रहरी प्रधान कार्यालयले एक महिनासम्म पठाएन । त्यो नपठाएको कारणले नै काम ढिला भयो । एक महिना प्रहरी प्रधान कार्यालयले लगत नपठाएको कारण ढिला भयो । पछि आयो । तत्कालीन प्रहरी महानिरीक्षकलाई हामीले तपाईँले आयोगलाई असहयोग गर्नुभयो भने कारबाही गर्नुपर्ने हुन्छ भनेपछि एक महिनापछि पठाउनुभयो,’– उनले भने ।

उनले अहिले आफूहरुले काम गरिरहेको र धेरै अगाडि बढिसकेको बताए । अध्यक्ष कार्कीले घटनामा दोषी देखिएकाहरुलाई कारबाहीका लागि आयोगले सिफारिस गर्ने बताए । आयोगलाई कारबाहीको अधिकार भने नरहेको उनको भनाइ छ ।