काठमाडौं, २ मंसिर । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगले दिएको प्रतिवेदन सरकारले अक्षरस पालना गर्नुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आयोगको प्रतिवेदन सरकारले कार्यान्वयन नगरेको र सार्वजनिक नभएको खण्डमा एक महिनापछि आफैंले सार्वजनिक गरिदिने बताए । उनले त्यसो हुँदा जनताले पनि कार्यान्वयनको लागि दवाब दिने बताए ।
‘हामीले दिएको प्रतिवेदन कार्यान्वयनमा गएन, सार्वजनिक भएन भने एक महिनापछि हामीले त्यो प्रतिवेदन सार्वजनिक गर्दिन्छौं । के सुझाव दिइएको रहेछ अनि देखिन्छ । यो कार्यान्वयन गर्नैपर्छ । कार्यान्वयन गरेन भने त भोलि जनताले पनि भन्छन् नि त,’– उनले भने ।
साथै, उनले आयोगले बयानका लागि बयानका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख कुबेरचन्द्र खापुङ, हालका आईजीपी दानबहादुर कार्कीलगायतलाई बोलाइने बताए । भदौ २३ गतेको घटनाको तथ्य पत्ता लगाउनका लागि उनीहरुसँग बयान लिनैपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया