मेटमणिको टिप्पणीः एमालेमा ओलीका दासहरु छन्, त्यो पार्टी कोल्याप्स हुन्छ


काठमाडौं, २ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता मेटमणि चौधरीले नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीको दासहरु रहेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै उनले एमालेलाई अब जनताले भोट पनि नहाल्ने र ओलीका दासहरु रहेको सो पार्टी कोल्याप्स हुने बताएका हुन् । उनले समाज दास युगबाट आधुनिक युगमा आइसक्दा पनि एमालेमा ओलीका दासहरु बाँकी नै रहेको टिप्पणी गरे । एमालेमा अझै पनि दास, नोकर चेतना भएका, ओली विना बाँच्न सकिँदैन भन्ने सोच भएका नेताहरु रहेको उनले बताए ।

‘उहाँहरु आइहाल्नुहुन्छ नि । जाने ठाउँ कहाँ छ र ? एमाले पार्टी कोल्याप्स हुन्छ । जनताले भोट हाल्दैनन् । कोल्याप्स भएपछि कि अर्को पार्टी बनाउनुपर्यो र्। एमालेले जित्नलाई नेतृत्व राम्रो हुनुपर्छ । के ओली राम्रो छन् त ? हामी दास युगबाट समान्ती युगमा आइसकेका छौं । सामन्ती युगबाट हामी पुँजीवादी युगमा प्रवेश गरिसकेका छौं । अझै पनि दास चेतना, नोकर चेतना, ऊ भएन भने बाँच्न सकिँदैन, उसैले हामीलाई जोगाएको छ । त्यो चेतना भएका मान्छे छन् र त्याृे पार्टी कोल्याप्स हुन्छ,’– उनले भने ।

उनले आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीच गठबन्धन हुने सम्भावना पनि रहेको बताए । राजनीतिमा सबैखालका सम्भावनाहरु कायमै रहने बताउँदै उनले अहिले नै कोहीसँग गठबन्धन हुँदैन भन्न नसकिने बताए । उनले संविधान, कानून र नजीरहरु हेर्दा प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना बलियो रहेको बताए । प्रतिनिधिसभा पुनर्स्थापना भए पनि फेरि केपी ओली प्रधानमन्त्री नबन्ने उनको दाबी छ । उनले ओली प्रधानमन्त्री हुने कुरा आकाशको तारा झार्छु भनेजस्तै रहेको बताए ।