काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीका नेता डा. शेखर कोइरालालाई भेट्ने भएका छन् । महामन्त्रीद्वय थापा र शर्माले आज (मंगलबार) पार्टीका शीर्ष नेता कोइरालालाई भेट्न लागेका हुन् । पार्टीको विशेष महाधिवेशनबारे छलफल गर्नका लागि महामन्त्रीद्वयले शीर्ष नेता कोइरालासँग भेट्न लागेको बताइएको छ ।
विशेष महाधिवेशन गरे पार्टी विभाजन हुने आशंका गर्दै आएका नेता कोइरालाले केन्द्रीय समितिमा भने केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशनमा जनुपर्ने धारणा राखेका थिए । पुसभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा शेखर रहेका छन् ।
करिब १ महिनादेखि जारी रहेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनबारे निर्णय गर्न सकिराखेको छैन । कांग्रेसको विधानअनुसार यही मंसिर महिनाभित्र नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ । विधानले आपतकालीन अवस्थामा एक वर्ष म्याद थप गर्न पनि सकिने व्यवस्था गरेको छ । कांग्रेस संस्थापन समूह अहिले महाधिवेशनको पक्षमा छैन । संस्थापन इत्तर समूह भने आसन्न फागुन २१ गतेको प्रतिनिसभा निर्वाचनमा नयाँ नेतृत्व र नीतिसहित जानुपर्ने पक्षमा छ ।
संस्थापन इत्तर समूहले विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसमेत संकलन गरेर बुझाइसकेको छ । कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।
विषम परिस्थितिमा महामन्त्रीद्वय थापा, शर्मा र शीर्ष नेता कोइरालाबीच हुन लागेको भेटलाई कांग्रेसका नेता तथा कार्यकर्ताले विशेष चासोका साथ हेरेका छन् ।




प्रतिक्रिया