सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन : गगन थापा


काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुधारिएको कांग्रेस र नयाँ उर्जाको साथ चुनावमा जाने बताएका छन् । उनले सत्यको पक्षमा उभिँदा पार्टी नफुट्ने बरु अझ बलियो बन्ने दाबी गरेका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा १५औं महाधिवेशन चुनावअघि कि पछि भन्ने विषयमा विवाद कायमै छ । आज थापाले भिडिओ सन्देश जारी गर्दै पूरानै शैलीले अब काम नचल्ने भनेका छन् । उनले अहिले कांग्रेसभित्रको बहस अधिवेशनको मिति नभएर पार्टी सुधारको दिशाबारे भएको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्,‘कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो। नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ। पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ। हामी न झुक्छौँ, न झुकिन्छौँ। जय नेपाल ।’