काठमाडौं, ५ मंसिर । चितवनको भरतपुर महानगरपालिकाले प्रचलित कानुनको कुनै ऐनको कुन दफा, उपदफाबमोजिम कानूनी प्रक्रिया पूरा गरी धुर्मुस सुन्तली फाउन्डेसनबाट रङ्गशालाको सृजित संरचना सम्पत्ति खरिद गर्ने भन्ने फेला पार्न नसकिएको बताएका छ । महानगरले आज आज एक विज्ञप्ति जारी गर्दैै प्रकृयाका सन्दर्भमा विभिन्न निकाय, खरिद विज्ञ, कानुनविद्, प्रशासक एवं पूर्व प्रशासक र विषय विज्ञहरूसँग छलफल, परामर्श, राय, सुझाव लिने चरणमा रहेको बताएको छ ।
भुक्तानी प्रक्रियामा सामेल हुने कर्मचारी र निर्णय प्रक्रियामा संलग्न हुने पदाधिकारीहरूलाई भविष्यमा कुनै कानुनी जटिलता र अभियोजन खेप्नु नपर्ने गरी यस समस्याको सर्वोत्तम समाधान कसरी गर्न सकिन्छ भन्नेमा महानगर निरन्तर संवेदनशील र प्रयत्नशील रहेको बताइएको छ ।
यस विषयमा महानगरपालिकाको राजनीतिक नेतृत्व एवं जननिर्वाचित प्रतिनिधिहरू र कर्मचारी प्रशासनिक संयन्त्र सहृदयता र जिम्मेवारीबोधका साथ समस्या समाधानमा केन्द्रित भइरहेको बताइएको छ । धुर्मुस सुन्तली फाउन्डेसनलाई भुक्तानी दिनेसन्दर्भमा केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा महानगरलाई लक्षित गरी भइरहेको नकारात्मक टिका टिप्पणी भएको भन्दै नकारात्मक टिक्का टिप्पणी र पूर्वाग्रहयुक्त धारणा सार्वजनिक नगरिदिन आग्रह गरिएको छ ।





प्रतिक्रिया