काठमाडौँ, ५ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन उजले यस्तो शिक्षाले नै अहिलेको चुनौती सामना गर्न सक्नेमा जोड दिएका हुन् ।
देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै उनले त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँंदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको बताए ।
‘यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ । यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलार्ई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु,’– उनले भने ।
राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार थप विषयको पठनपाठन सुरु गरी व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने आजको आवश्यकता भएको बताए ।




प्रतिक्रिया