काठमाडौं, ६ मंसिर । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । नेताद्वय विप्लव र प्रकाण्ड केही दिनअघि बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताको क्रममा प्रधानमन्त्री कार्की देशको परिस्थिति देखेर चिन्तित भएको नेता प्रकाण्डले बताए ।
‘हाम्रो महासचिव र म गएर भेटेको हो । उहाँ प्रधानमन्त्री भइसकेपछि जिम्मेवार राजनीतिक पार्टीको लिडरले भेटेको पहिलो पटक हो । प्रधानमन्त्रीज्यूको आशय र इमादारितामा कोही शंका गर्ने ठाउँ छैन । जुन स्थितिमा उहाँले सम्हाल्नुपर्यो, यो जटिल परिस्थितिले उहाँ धेरै चिन्तित हुनुहुन्छ । जो आगामी उहाँको कार्यभार छ, त्यो कार्यभारको निम्ति राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा धेरै जटिलता र धेरै षड्यन्त्रहरु बढिराखेको छ भन्ने उहाँको फिलिङ छ,’– नेता प्रकाण्डले भने ।
साथै, नेता प्रकाण्डका अनुसार प्रधानमन्त्री कार्कीले देशलाई भ्रष्टाचारको अजिङ्गरले निलिसकेको र यही स्थितिमा भ्रष्टाचारबाट मुक्त गराउन सकिने अवस्था पनि नरहेको भन्दै चिन्ता व्यक्त गरेकी थिईन् । ‘उहाँले भनेको कुरा– देश भ्रष्टाचारको अजिङ्गरले यसरी निलिसक्यो कि, यही स्थितिमा भ्रष्टाचारबाट देशलाई मुक्त गर्न सकिँदैन । त्यसो भएको हुँदा एउटा ठूलो अभियान चाहिन्छ । निर्मम अभियान चाहिन्छ भन्नुभयो,’– प्रधानमन्त्री कार्कीको भनाइ उदृत गर्दै नेता प्रकाण्डले भने ।
साथै, प्रधानमन्त्री कार्कीले अहिलेको राज्यको संरचनामा कर्मचारीतन्त्रभित्र पनि भ्रष्टाचारको डरलाग्दो रहेको प्रधानमन्त्री कार्कीले बताएकी थिईन् । उनले आफूहरुलाई कर्मचारीतन्त्रले थुप्रै काम गर्न नदिएको गुनासो पोखिन् । प्रधानमन्त्री कार्कीले विप्वल, प्रकाण्डजस्तो फ्रेस र जनताले विश्वास गरेका नेताहरु निर्वाचनमा सहभागी हुनु आजको आवश्यकता रहेको पनि बताईन् । उनले आफूलाई फ्रेस लिडरहरुको मद्दत जरुरत रहेको पनि बताईन् ।
नेता प्रकाण्डले सो क्रममा आफूहरुले देशको समग्र स्थितिलाई दृष्टिगत गरेर, राष्ट्रिय सहमति बनाएर सर्वपक्षीय सहमति बनाएर अगाडि जान सुझाव दिएको पनि बताए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले नै राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने सरकार बनाउनुपर्यो भनेर नेकपा (माओवादी) ले भनेको उनले सुनाए । सर्वपक्षीय सहमति जुटाएर आगामी बन्ने सरकारको निम्ति सकारात्मक भूमिका खेल्नुस् भनेर आफूहरुले प्रधानमन्त्री कार्कीलाई सुझाव दिएको नेता प्रकाण्डले सुनाए ।




प्रतिक्रिया