हामीले सामन्त, जमिनदार र मुखियाहरुलाई विनास पारेकै कारण मुलुकमा गणतन्त्र आयोः प्रकाण्ड (भिडिओसहित)


काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सशस्त्र संघर्षको क्रममा आफूहरुले सामन्त, जमिनदार र मुखियाहरुलाई विनास गरेकै कारण देशमा गणतन्त्र आएको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सामन्त र जमिनदारहरु जनताको र देशको दुस्मन रहेको र आफूहरु उनीहरुसँग लडेको बताएका हुन् ।

‘त्यो बेलाका सामन्त, जमिनदार, मुखियाहरुलाई त विनास पारेकै हो । जनकारबाही गरेकै हो । त्यसकैकारण आज मुलुकमा गणतन्त्र आयो । त्यो बेलामा सही नै गरियो,’– नेता प्रकाण्डले भने ।

साथै, उनले त्यो बेलामा आफूहरुले देशमा गणतन्त्रको लागि लडे पनि अिहले अहिले गणतन्त्र ‘बाँदरको हातमा नरिवल’ बनेको टिप्पणी गरे । अहिले देश धेरै क्रिटिकल स्थितिमा रहेको बताउँदै उनले देशको र जनताको निम्ति विगतमा कुर्वानी गरेका सबभन्दा राम्रा मान्छेहरु अहिले जिम्मा लिन अगाडि सर्ने बेला आएको बताए । विगतका राज्य सञ्चालकहरुले देशलाई बर्वादीको दिशातिर लगेको उनको आरोप छ । File Photo/RN