विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउने हो, अर्को विकल्प छैनः महामन्त्री थापा


काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउने बताएका छन् । केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै उनले आगामी फागुन २१ गतेको निर्वाचन अघि नै कांग्रेसले नयाँ नेतृत्व पाउने बताएका हुन् । उनले अहिलेको कार्यसमितिको म्याद थप नहुने बताए । कांग्रेसको विधानअनुसार विशेष परिस्थितिमा एक वर्षसम्म कार्यसमितिको म्याद थप गर्न सकिने व्यवस्था रहेको छ ।

महामन्त्री थापाले आफूले नियमित महाधिवेशन गर्न सकिन्छ भनेर नै कार्यतालिका पेश गरेको बताए । केही नेताहरुले नियमित महाधिवेशन सम्भव छैन भनेकाले अबको उत्तम बाटो विशेष महाधिवेशन रहेको उनले बताए । आगामी मंसिरको २७ र २८ गते जुन दिन उपयुक्त हुन्छ, त्यही दिन विशेष महाधिवेशन गरिने उनले बताए । नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशन नै निर्विकल्प रहेको उनको भनाइ छ ।

उनले आगामी फागुन २१ गतेको निर्वाचनअघि नियमित महाधिवेशनमा पनि नजाने र विशेष महाधिवेशन पनि नगर्ने भन्ने कुरा आफूहरुलाई स्वीकार्य नरहेको बताए । कांग्रेस संस्थापन इत्तर समूहका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन् । तर, संस्थापन समूह भने चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन नगर्ने पक्षमा छ ।