काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का नेता सूर्य बहादुर थापा क्षेत्रीले अगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पुस महिना नै देख्न नपाउने बताएका हुन् । धेरै थोर ज्योतिषशास्त्र पनि जान्ने बताउँदै उनले यसअघि आफूले गरेको भविष्यवाणी मिलेको दाबीसमेत गरे । पूर्व राजा ज्ञानेन्द्रको राजतन्त्र उन्मूलन हुन्छ भनेर किताब लेखेको र प्रचण्डको बारेमा गरेको भविष्यावाणी पुगेको उनको दाबी छ ।
‘फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै हुँदैन त । कुनै हालतमा हुँदैन । सुशीला कार्कीको सरकारले पुस महिना देख्दैन, टेक्दैन । अनि के को चुनाव ? म ज्योतिषशास्त्र पनि जान्दछु क्या । म विश्लेषण गर्छु नि त राजनीतिक विश्लेषण । मैले २४० वर्षको ज्ञानेन्द्रको राजतन्त्र उन्मुलन हुन्छ भनेर विश्लेषण गरेँ । चारवटा किताब लेखेँ । गयो । प्रचण्डहरुको काम छैन, यी यसैगरी पतन हुन्छन् भने, गए,’– उनले भने ।
त्यस्तै, प्रधानमन्त्री कार्की संवैधानिक परीक्षणको कठघरामा पनि रहेको उनले बताए । संवैधानिक परीक्षणको सिलसिलामा पुस महिना नलाग्दै ृउनलाई अदालतले बर्खास्त गरिदिने नेता थापाको दाबी छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले जेन–जीहरुको विश्वाससमेत गुमाइसकेको उनले बताए । विभिन्न २६ वटा जेन–जी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ‘यी बज्यैलाई हामी चिन्दैनौं’ भनिसकेको नेता थापाले बताए ।
‘संवैधानिक परीक्षणको कठघरामा हुनुहुन्छ । उहाँ संविधानले नचिनेको मान्छे हुनुहुन्छ । संवैधानिक परीक्षणको सिलसिलामा मलाई लाग्छ पुस लाग्दा नलाग्दै उहाँ जानुहुन्छ । दोस्रो कुरा जेन–जीहरुले रामचन्द्र पौडेललाई गएर यी बज्यैलाई हामीले चिन्दैनौं । यी बसेको ठाउँबाट उठ्न पनि नसक्ने, कुरा पनि नसुन्ने, हाम्रो माग पनि यिनी होइनन् । यी जेन–जी पनि होइनन्, नक्कली जेन–जी । खान आएकी हुन् यिनी । हाम्रा कुरा सुन्दा पनि सुनिनन् भनेर २६ वटा जेन–जी समूहले माग गरे । जेन–जीको माग भनेर दुहाइ दिने सुशीला कार्कीको जग भत्कियो । उहाँको जग हल्लियो,’– उनले भने ।




प्रतिक्रिया