काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने निर्णय गरेको बताएका छन् । जुनसुकै समस्या पनि जनताको जनमतबाट समाधान गरिनुपर्छ भन्ने मान्यताको आधारमा कांग्रेस निर्वाचनमा जान तयार भएको उनको भनाइ छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निर्वाचनलाई स्वीकार गर्ने र त्यसैबाट सबै समस्याको समाधान खोज्ने निर्णयमा कांग्रेस पुगेको बताएका हुन् ।
‘निर्वाचनमा जाने कुराको निर्णय भइसकेको छ । जुनसुकै समस्याको समाधान पनि जनताबाट, अथवा जनताको अभिमतबाट गरिनुपर्छ भन्ने हाम्रो मूलभूत मान्यता हो । त्यसआधारमा निर्वाचनलाई हामीले स्वीकार गर्ने र निर्वाचनमा गएर यी सबै समस्याको समाधान मतदाताबाट खोज्ने हामीले निर्णय गरेका छौं,’– उनले भने ।
साथै, उनले पार्टीले १५औं महाधिवेशनबारे निर्णय गर्न नसकेकोप्रति भने असन्तुष्टि व्यक्त गरे । उनले अहिले पार्टीभित्र निर्वाचन अघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद रहेको बताए । आफूहरुको मत भने निर्वाचन अघि महाधिवेशन गर्नुपर्ने र त्यसले मात्रै विशेष महाधिवेशनलाई रोक्न सक्छ भन्ने रहेको नेता पौडेलले बताए । त्यस्तै निर्वाचन अगाडि महाधिवेशन भएको खण्डमा पार्टी चलायमान हुने, नेतृत्व र नीतिगत विषयमा पार्टी अध्यावधिक र स्पष्ट हुने र महाधिवेशन गरेको अवस्थामा मत बढ्ने उनको भनाइ छ ।
‘पार्टीको महाधिवेशनको विषय चाहिँ हाम्रो आन्तरिक विषय हो । यसमा हाम्रो पार्टीभित्र अलिकति मत नमिलीरहेको स्थिति छ । निर्वाचन अगाडि महाधिवेशन या निर्वाचन पछाडि महाधिवेशन भन्ने कुरा आइरहेको छ । हामी जहिल्यै निर्वाचनभन्दा अगाडि महाधिवेशन हुनुपर्छ, निर्वाचन अगाडि हुने महाधिवेशनले एक त विशेष महाधिवेशनलाई रोक्ने स्थिति बन्छ । दोस्रो कुरा पार्टी चलायमान हुन्छ, नेतृत्व र नीतिगत विषयमा पार्टी अध्यावधिक र स्पष्ट हुन्छ । निर्वाचनभन्दा अगाडि हामीले महाधिवेशन गरेको अवस्थामा मत बढ्छ भन्ने हाम्रो भनाइ हो,’– उनले भने ।
चुनाव अगाडि नियमित महाधिवेशन नभएको खण्डमा विशेष महाधिवेशन बाध्यकारी रहेको पनि उनको भनाइ छ । उनले विशेष महाधिवेशन नगरेर नपाइने र जति समय लम्ब्याए पनि विशेष महाधिवेशन रोकिने स्थिति नबन्ने बताए । विशेष महाधिवेशन र नियमित महाधिवेशन आन्तरिक सवालसँग जोडेर हेर्दा उस्तै रहेको र पार्टी पनि नफुट्ने उनले बताए । पार्टीलाई विधानसम्मत ढंगबाट अगाडि बढाउँदा कांग्रेस फुट्छ भनेर भ्रम फैलाउने हो भने डेमोक्रेटिक अभ्यासमा डराएको पुष्टि हुने उनको भनाइ छ । नेता पौडेलले विधानको व्यवस्था कार्यान्वयन गर्दा पार्टीलाई हानी हुन्छ भन्ने कुरा लोकतान्त्रिक नभएको बताए । अहिले केन्द्रीय समितिले नै विशेष महाधिवेशनको वातावरण बनाइराखेको उनको दाबी छ ।
‘विशेष महाधिवेशन बाध्यकारी व्यवस्था हो । विधानको धारा १७ (२) मा यो प्रष्ट उल्लेख भएको स्थिति छ । विधानमा भएको बाध्यकारी व्यवस्थालाई केन्द्रीय समितिले गर्दिनँ भन्न मिल्दैन । विशेष महाधिवेशन गर्दा नेतृत्वको एक्जिट पनि ग्रेसफूल नहुने हुन्छ । महाधिवेशन सरह नै विशेष महाधिवेशन पनि हामीले त्यसअनुसारको तयारी गर्नुपर्छ । विशेष महाधिवेशनको विकल्प निर्वाचन अगाडिको महाधिवेशन मात्रै हो । निर्वाचन अगाडि महाधिवेशन हामीले गरौं भनेर भन्दै आएका छौं । तर, कस्तो रणनीति देखियो भने बैठक लम्ब्याएको लम्ब्याइ गर्ने, समय पुगेन भनेर निर्वाचन अगाडि महाधिवेशन नगर्नेखालको रणनीति देखिएको हो कि । मलाई यसमा के लाग्छ भने विशेष महाधिवेशन हुने वातावरण केन्द्रीय समितिले नै बनाइरहेको छ, नेतृत्वले नै बनाइरहेको छजस्तो देखिन्छ,’– उनले भने ।




प्रतिक्रिया