सुदन किरातीको नजरमा नेताहरुः ओली खोलोको डिलमा पुगेको धृतराष्ट्र, प्रचण्ड यदुवंशी, जनार्दन-बाबुराम कृष्ण !


काठमाडौं, ७ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किरातीले पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खोलाको डिलमा पुगेको धृतराष्टको संज्ञा दिएका छन् । आज (आइतबार) आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले ओली अहिले हस्निापुर गुमाएर नदीको डिलमा पुगेको धृतराष्ट्रजस्तो भएर गुण्डुमा बसिराखेको बताएका हुन् । जेन–जी आन्दोलनको क्रममा पूर्व प्रधानमन्त्री ओली झण्डै भाग्न नपाएको भन्ने प्रसंगलाई लिएर उनले सुखी व्यक्त गरे ।

‘महाभारतका धृतराष्ट्र थियो । हस्तिनापुरमा लामो शासन गर्यो । तर, जनतालाई अन्याय गरेर अन्याय र न्यायको बीचमा लडाईँ हुँदै जाँदाखेरी हस्तिनापुरमा बसेर राज्य सञ्चालन गर्ने धृतराष्ट्र अन्तिममा हार्दै हार्दै जाँदा खोलाको डिलमा एउटा गोठमा बास बस्न पुगेको थियो र त्यो गोठ पनि आगोले खरानी भयो । आज हाम्रा नेता पनि ठूला–ठूला कुरा गर्थे, प्रधानमन्त्री पनि थिए । झण्डै भाग्न पाएनन् । प्रधानमन्त्री हुँदा पनि झण्डै भाग्न पाएनन् । हामीले भनेको होइन, उहाँकै मुखबाट सुनेको । पाँच मिनेट ढिला भएको भए बर्वाद हुन्थ्यो । आज त्यसरी नै हस्तिनापुर गुमाएर नदीको डिलमा पुगेको धृतराष्ट्रसँग कोही गुण्डुमा पुगेको छ, कोही कहाँ पुगेको छ,’– उनले भने ।

साथै, महाभारतकै कथाको प्रसंग जोड्दै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्कपमल दाहाल ‘प्रचण्ड’ लाई हजारौं शस्त्रअस्त्रले सजिएका यदुवंशी सेनासँग तुलना गरे । नेता किरातीले आफूहरुले यदुवंशी सेना नरोजेर कृष्णजस्ता जनार्दन र राम कार्की राजेको बताए । आफूहरु न्यायको लडाइँमा रहेको र कहिले पनि नहार्ने उनले बताए ।

‘महाभारतको कथालाई सापटी लिँदा हजारौ हजार अस्त्रशस्त्रले सजिएका यदुवंशी सेनाहरु थिए । हामीले यदुवंशी सेना रोजेनौं । रोज्यौं त केवल बाबुराम भट्टराईजस्तो, रोज्यौं त केवल जनार्दन शर्माजस्तो, रोज्यौं त केवल राम कार्कीजस्तो । कृष्ण रोजेका छौं । हामी यो न्यायपूर्ण लडाइँमा हार्ने छैनौं,’– उनले भने ।

एमाले अध्यक्ष ओलीलगायतले जेन–जी आन्दोलनलाई विदेशीहरुको कारण भएको भनेर बदनाम गर्न खोजेको भन्दै उनले आपत्ति जनाए । आफ्नो पार्टीले उक्त आरोपलाई आरेज गर्ने पनि उनले बताए । ‘उहाँहरु भन्नुहुन्छ– यो जेन–जी विद्रोह त विदेशीको कारणले भनेर लाज पनि लजाउने गरी अभिव्यक्ति दिइराख्नुभएको छ । हाम्रो पार्टी त्यसलाई सम्पूर्ण रुपले खारेज गर्दछ । भकारी राम्रोसँग नराख्ने अनि भंगेरा आए भनेर हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।