पुस २८ गतेभित्र विशेष महाधिवेशन हुनुपर्ने इतर समूहको माग


काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसको संस्थापन इत्तर समूहले विधानले तोकेको मिति पुस २८ गतेभित्र अनिवार्य रुपमा विशेष महाधिवेशन हुनुपर्ने माग गरेको छ । आज विशेष महाधिवेशन हस्ताक्षर अभियानको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सुदृढ, एकताबद्ध र जनअपेक्षित कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा पुष २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनैपर्छ।’

कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्योल र निर्णयहिनताले पार्टी आज गम्भीर संकटको मोडमा उभिएको बताइएको छ । यस अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने इत्तर समूहको भनाइ छ ।

जनअपेक्षा अनुसार पार्टीमा आमूल रूपान्तरण र नवीकरण आवश्यक छ भन्ने गहिरो अनुभूति गर्दै विशेष महाधिवेशनको माग गरिएको बताइएको छ । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको यो मागलाई नेतृत्वले आजसम्म बेवास्ता गरेको विशेष महाधिवेशन पक्षधरको ठहर छ ।

विशेष महाधिवेशन पक्षधरहरुले केवल कार्यतालिका मात्रै नभएर आफूहरुले महाधिवेशन नै माग गरेको बताएका छन् । कुनै पनि बहाना वा अविश्वसनीय नियमित महाधिवेशनको तालिकामा विशेष महाधिवेशनको माग निष्क्रिय हुन नसक्ने उनीहरुको भनाइ छ । ‘वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ । अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार विशेष महाधिवेशन कसैले पनि रोक्न वा अतिक्रमण गर्न पाउँदैन,’– विज्ञप्तिमा भनिएको छ ।