काठमाडौं, १४ मंसिर । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले केही स्वार्थसमूहबाट प्रेरित मानिसहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचनसँगै तत्काल संविधान संशोधन लेखिएको मस्यौदा अहिले शहरभरि घुमाईरहेको हल्लाबारे प्रतिक्रिया जनाएकी छिन् । उनले यो मस्यौदा अहिलेमात्र नभएर गत भदौ २४ गतेदेखि नै मानिसहरुको हातहातमा पुगिरहेको उल्लेख गरेकी छिन् । आफूहरुले यो विषयमा पटकपटक अवरोध गरेको पनि स्पष्ट पारिन् ।
केही स्वार्थसमूहबाट प्रेरित मानिसहरूले ‘प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन” सँगै ‘तत्काल संविधान संसोधन’ लेखिएको ड्राफ्ट अहिले शहरभरी घुमाइरहेको हल्ला छ । गत शुक्रबार मात्र, प्रधानमन्त्री र एमाले नेताहरूबिच भएको भेटमा पनि यस ड्राफ्टबारे कुरा उठेको भनेर नेपालप्रेसले समाचार समेत बनाएको छ । स्पष्ट पारौं यस्तै ड्राफ्ट पछिल्लो समय मात्र नभई, सेप्टेम्बर ९ तारिक अर्थात भदौ २४ को दिनदेखि नै मानिसहरुको हातहातमा पुगिरहेको थियो । हामीले पटक पटक यस बिषयमा अबरोध गरेका नै हौ ।
नेपालको संविधान २०७२ यत्तिकै आएको संविधान होईन । बर्षौको समय र हज्जारौंको बलिदानपश्चात बनेको संविधान हो यो । केही स्वार्थप्रेरित मानिसहरु यसको मूल मर्ममा नै प्रहार गर्नेगरी संविधान संसोधनको मुद्दा उठाईरहेका छन् र यसबारेमा राम्रोसँग थाहैनभएका जेन जी साथीहरु उनीहरुको गोटी बनिरहेका छन् । बिभिन्न समूहका जेन जी साथीहरुसँग यसबारेमा छलफल हुँदा पनि हामीले यी कुराहरु उठाएका थियौंरछौं। जेन जी साथीहरुले मात्र नभई समाजलाई बिभिन्न तरिकाले प्रभावमा पार्न सक्ने व्यक्तिहरुसमेत यस्तै ड्राफ्टलाई छलफलमा ल्याउदै हिडेको हामीले थाहापाएका छौं। कतिपय जेन जी साथीहरु त आन्दोलनमा समेत आउनुभएको थिएन । र कतिपय साथीहरुलाई त संविधान भनेको के हो समेत थाहा थिएन। उहाँहरुलाई लाग्छ, यो व्यवस्था उल्टाउने बित्तिकै जादुको छडी घुमाएजसरी सबैथोक एकै रातमा परिवर्तन भईहाल्ने वाला छ ।
तर हेक्का रहोस, देश भनेको जादुको छडीले चल्ने चीज होईन । देश चलाउनका लागि विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता र जनपक्षीय सहभागिताको आवश्यकता पर्छ ।उल्लिखित मुद्दाहरुको बिषयमा व्यापक छलफल हुनु जरुरी छ । हामी संविधान पुनरावलोकनको पक्षमा नै छौ तर त्यसका लागि जनादेश जरुरी छ । हामी लोकतान्त्रिक विधीलाई मान्दछौ । संविधान संसोधन गर्न चाहने वा प्रत्यक्ष निर्वाचित प्रणाली राख्न चाहने जो कोही हुनुहुन्छ, तपाईहरु चुनावी मैदानमा घोषणापत्रमा नै उल्लेख गरेर भोट माग्न सक्नुहुनेछ र यी बिषयहरुलाई परीक्षण गर्दै जनादेश लिएर आउन सक्नुहुन्छ । त्यो नै सबैभन्दा लोकतान्त्रिक उपाय हो ।
यस संक्रमणकालीन समयमा अनावश्यक हस्तक्षेप गर्दै स्वार्थपूर्ण खेल खेल्न खोज्नेहरु होसियार।छोटो बाटो खोजेर, देशलाई थप अनिश्चितता तर्फ धकेल्नका लागि खेलिने हरेक खेलको हामी बिरोध गर्नेछौ र डटेर सामना गर्न पनि तयार छौं।साथसाथै, यस नागरिक सरकारको लागि आन्दोलनले स्पष्ट म्यान्डेट दिईसकेको छ । र नागरिक सरकार कुनैपनि हालतमा आन्दोलनको म्यान्डेटभन्दा बाहिर जादैनरजान पाउदैन भन्ने कुरामा हामी विस्वस्त छौं।




प्रतिक्रिया