काठमाडौं, १५ मंसिर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेट गरेका छन् । सिंहदरबारस्थित अध्यक्षज्यूको कार्यकक्षमा आज दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन् । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका कामकारबाहीको बारेमा जानकारी दिएका थिए । साथै उनले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको लागि आयोगले गरिरहेका कामको बारेमा पनि जानकारी गराएका थिए ।
सो अवसरमा सम्माननीय अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताएको उनको सचिवालयले जनाएको छ । साथै, अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रिय सभाले आवश्यक सहयोग गर्न तयार रहेको विश्वास दिलाएका थिए ।




प्रतिक्रिया