झिसमिसेमै सपथ लिएका मधेशका मुख्यमन्त्रीले आज बिहानै विश्वासको मत लिँदै


काठमाडौं, मंसिर १७ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै छन् । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि विश्वासको मत लिन अहिले बिहान ८ः३० बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने छन् ।

मुख्यमन्त्री यादवले आज दिउँसो २ बजे प्रदेश सभा बैठक आह्वान गरेर विश्वासको मत लिने वातावरण बनाउन प्रदेश सभामा पत्र पठाएका थिए । तर मधेश प्रदेश सभामा रहेका एमालेबाहेकका दलहरुको सर्वदलीय बैठकबाट बुधबार बिहान ८ः३० बजे नै प्रदेशसभा बैठक आह्वान गर्ने निर्णय भएको जनाइएको छ ।

सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री यादवले कार्तिक २४ गते बिहान झिसमिसेमै बर्दिवासको एक होटलमा शपथ लिएका थिए । त्यसबाट असन्तुष्ट दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेकोमा यादवलाई कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ प्रदेशसभा सदस्य छन्, जसमध्ये एक जना निलम्बित छन्। त्यस्तै, नेपाल संघीय समाजवादी पार्टीका एक जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कारबाही प्रक्रियामा रहेका एक जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको पक्षमा खुलेका छन् ।

यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा तथा प्रदेश प्रमुख र सभामुखको सहयोगमा संविधानको धारा १६८ (३) अनुसार सरकार गठन गरेको थियो। तर त्यो प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेका थिए ।