अहिले नेतृत्वविरुद्ध हमला भइरहेको छ, हामीले नेतृत्वको रक्षा गर्ने बेला छ : गिरी (भिडिओ-सहित)


काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता पदम गिरीले अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध हमला भइरहेको भन्दै नेतृत्वको रक्षा गर्ने बेला भएको बताएका छन् । उनले भने,‘अहिले एमाले र नेतृत्वविरुद्ध हमला भइरहेको छ, यस्तो बेलामा नेतृत्वको रक्षा गर्नु र बलियो बनाउनु, अनि सिंगो पार्टी पँक्तिलाई बलियो बनाउने कुरा सबै नेता तथा कार्यकर्ताको दायित्वको विषय हो । यो महाधिवेशनले नेतृत्वले बलियो बनाउनेछ । पार्टीमा नयाँ र पूराना पुस्ताको समिश्रण बनाउनेछ ।’

आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिले मुलुकमा दर्हो र खरो नेतृत्वको आवश्यकता रहेको औंल्याए ।

उनले भने,‘अहिले हाम्रोविरुद्धमा एउटा कन्सिपिरेसी सिर्जना गरिएको छ कि देश बर्बाद बनाउने काम केपी ओलीले गरेको छ भनेर, त्यो भनिएको छ, त्यसको पर्दाभित्र के छ भने यो देशको राष्ट्रिय स्वाधिनताको मुद्दामा, जनजिविकाको मुद्दामा यो समग्र राजनीतिक परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्ने सवालमा केपी ओलीले जुन स्पष्ट अडान र दृष्टिकोण राख्नुभएको छ, त्यो कुराबाट बिच्किएका मान्छे र शक्ति केन्द्रले केपी ओलीका विरुद्धमा ठूलो अफवाह सिर्जना गर्ने कोशिस गरेका छन् । हामी यो विषयमा सजग छौं ।’ एमालेलाई अहिले एकताबद्ध बनाउनुपर्ने र उर्जा भर्नुपर्ने बेला आएको उनको भनाई छ ।