ग्लोबल हिरो अवार्ड (जर्नालिजम) ग्रहण गर्दै ऋषि धमलाले भने–पूरानो नेतृत्व असफल भयो, अब वैकल्पिक शक्ति चाहिन्छ


काठमाडौं, २० मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले नेपालमा पूरानो नेतृत्व असफल भइसकेको दाबी गर्दै अब वैकल्पिक शक्ति आवश्यक रहेको औंल्याएका छन् । आज (शनिबार) काठमाडौंमा हामी नेपाली ग्लोवलद्वारा आयोजित अवार्ड वितरण कार्यक्रममा ‘ग्लोवल हिरो अवार्ड’ ग्रहण गर्दै धमलाले यस्तो बताएका हुन् ।

उनले नेपालका परिवर्तनकारी वैकल्पिक शक्ति मिल्नुको विकल्प नभएको भन्दै त्यसको लागि आफूले पहलकदमी लिएको स्पष्ट पारे । धमलाले भने,‘अब देशमा वैकल्पिक शक्ति चाहिन्छ । पूरानो नेतृत्व असफल भयो । पूरानो नेतृत्वको कारण मुलुकमा ठूला ठूला परिवर्तन भएका छन्, आन्दोलन सफल पनि भएको छ । तर, देश र जनताको अवस्था अहिलेपनि कमजोर छ । यो सुधार गर्नको लागि अब वैकल्पिक शक्ति मिल्नुपर्छ ।’ उनले जनेजी आन्देलनमा दमन गर्नेहरुलाई कारबाहीको समेत माग गरे । धमलाले २१ फागुनको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई मतदानबाट बञ्चित गरिन नहुने तर्क गरे ।

उनले सुशासन कायम गरिनु आजको मुख्य अभिभारा भएकोले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । देशमै रोजगारी सिर्जना गरिनुपर्ने र भ्रष्टाचार अन्त्य गरिनुपर्ने आफ्नो एकसूत्रीय एजेण्डा भएको धमलाको भनाई छ । त्यसको लागि सबै शक्ति मिल्नुनपर्ने उनले सुझाए । उनले भने,‘अहिले राष्ट्रिय सहमति र सहकार्य आवश्यकता छ । विश्वभरि छरिएर बसेका नेपालीहरुको ध्यान नेपालमा छ, अब हामीले देशलाई माथि उकास्नुपर्छ ।’

कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री कुलमान घिसिङले आफू सबैलाई मिलाएर अघि बढ्नेगरि सक्रिय रहेको बताए । उनले मुलुक विकास र समृद्धिको लागि आफू गम्भीर भएर लागिपरेको पनि विश्वास दिलाए । सो क्रममा उनले पत्रकार ऋषि धमला पत्रकारिताको मात्रै नभएर देशकै हिरो भएको बताए । उनले भने,‘ऋषिजी त पत्रकारिताको पनि हिरो, देशको पनि हिरो हो । उहाँ बरिष्ठ सञ्चारकर्मी, सबै कुरा बुझेको मान्छे हो । समाज, राजनीति र देशको कुरा बोल्नुभयो । सबैलाई मिलाउनुहोस ।’