काठमाडौँ, ६ पुस । खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालय मातहतका सबै निकायलाई गौरवको अनुभूति हुने गरी परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उनले आमनागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउने मार्गमा सबैले इमान्दार भएर प्रयास गर्नुपर्ने बताए ।
मन्त्री भण्डारीले खानेपानी नागरिकको आधारभूत आवश्यकता र अधिकार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले प्रभावकारी योजना र कार्यान्वयनमा जोड दिनुपर्ने स्पष्ट पारे । उनले देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै त्यसलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाए ।
“नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्न सबै लाग्नुस् । आवश्यक सहकार्य र समन्वय गर्न मन्त्रालय प्रतिबद्ध छ”, मन्त्री भण्डारीले भने, “हामीले गर्ने कामले आमनागरिकलाई सहजता दिनुपर्छ र त्यसबाट कर्मचारीदेखि नेतृत्वसम्म सबैले गौरवको अनुभूति गर्न सक्नुपर्छ ।”
मन्त्री भण्डारीले मन्त्रालय तथा मातहतका कार्यालयमा सुशासन, पारदर्शीता र जवाफदेहितालाई प्राथमिकता दिइने बताउँदै अधुरा र निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले विकास निर्माणका काममा ढिलासुस्ती, लापरबाही र अनियमितता सह्य नहुने स्पष्ट गर्दै जनताको करबाट उठेको स्रोतको सदुपयोग हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्री भण्डारीले सुरक्षित खानेपानीले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै पानीजन्य रोग न्यूनीकरण गर्न गुणस्तर नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताए । उनले खानेपानी तथा सरसफाइका कार्यक्रमलाई स्थानीय तहसँग सहकार्य गरी अघि बढाइने जानकारी दिए ।
मन्त्रालयका सचिव रामआधार साह, सहसचिवलगायत कर्मचारीले मन्त्री भण्डारीलाई स्वागत गर्दै मन्त्रालयका चालु तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । उनीहरूले खानेपानी तथा सरसफाइ क्षेत्रमा भएका उपलब्धि, चुनौती र भावी योजनाबारे संक्षिप्त विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्त्रालयका अधिकारी, कर्मचारी तथा सरोकार भएका निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । रासस




प्रतिक्रिया