उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त


काठमाडौं, १० पुस । उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्ति, प्रेम, करुणा र सहअस्तित्वको सन्देश बोकेको यस पर्वले मानवता, सहिष्णुता र सामाजिक सद्भावलाई सुदृढ बनाउनमा सहयोग पुगोस् भन्दै शुभकामना दिएका हुन् ।

“हाम्रो संविधानले सुनिश्चित गरेको समानता, धार्मिक स्वतन्त्रता र सामाजिक न्यायसँग यी मूल्यहरू प्रत्यक्ष रूपमा जोडिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक हो । यहाँका विविध धर्म, संस्कृति र परम्पराले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएका छन् । यी चाडपर्वले ‘विविधतामा एकता’ को सन्देश दिँदै राष्ट्रिय अखण्डता, सामाजिक समानता र सहअस्तित्वलाई बलियो बनाएका छन्”, जारी सन्देशमा सन्देशमा भनिएको छ ।

उपराष्ट्रपति यादवले यी पर्वहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी शासनको अभ्यासलाई सांस्कृतिक आधार प्रदान गर्दै स्थायी शान्ति, सुशासन र समृद्धिको दिशामा अघि बढ्न उत्प्रेरित गरेको सन्देशमा उल्लेख गरेका छन् ।

क्रिश्चियन धर्मका प्रवर्तक यशु ख्रीष्टको जन्म दिवसका रूपमा हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर क्रिसमस पर्व मनाइन्छ । क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व छ । यसले परिवार, साथीभाइ र समुदायबिच शुभकामना आदानप्रदान, उपहार साटासाट र सांस्कृतिक कार्यक्रममार्फत आपसी सद्भावलाई बलियो बनाउँदछ । साथै, व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै मुलुकलाई आर्थिक लाभ पुर्‍याउने अवसर पनि प्रदान गर्दछ । विपन्न, असहाय तथा सीमान्तकृत समुदायप्रति करुणा र सहयोगको भावना जागृत गर्ने प्रेरणा पनि यस पर्वले दिन्छ ।