काठमाडौं, ११ पुस । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले बचत रकम फिर्ता नपाएसम्म मतदान नगर्न ७४ लाख सहकारी पीडितलाई सुझाव दिएका छन् । सहकारी बचत संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आज .(शुक्रबार) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले ७४ लाख सहकारी पीडित जनतालाई एकजुट हुन आग्रह गरे । उनले सरकारलाई सहकारी पीडितको समस्याबारे गम्भीर हुन ध्यानाकर्षण गराए । चुनाव अगाडि सरकारले सहकारी पीडितको बचत फिर्ता गर्नुपर्ने धमलाको माग छ । जेन–जी आन्दोलनको क्रममा २५ हजार युवा सडकमा उत्रिदा सरकार परिवर्तन भएको तथ्य उल्लेख गर्दै वरिष्ठ पत्रकार धमलाले ७४ लाख सहकारी पीडितहरु सडकमा उत्रिएको दिन प्रधानमन्त्री कार्कीले पनि आफ्नो नेतृत्वको सरकार जोगाउन नसक्ने बताए ।
‘चुनाव अगाडि सहकारी पीडितहरुले पैसा पाएनन् भने उनीहरुले मतदान गर्दैनन् । भदौ २३ र २४ गते २५ हजार मान्छे सडकमा आउँदा सरकार ढल्यो । भोलि ७४ लाख जनता सडकमा आए भने के होला ? तपाईँहरु एक ढिक्का हुनुस् । तपाईँहरु एक ढिक्का हुनुभयो भने चुनाव अगाडि सरकारले पैसा फिर्ता गर्नैपर्छ । सरकारले भाषणमात्रै गर्ने होइन, काम गर्ने हो,’– उनले भने ।
उनले चुनाव गराउने पैसा बरु सहकारी पीडितहरुलाई फिर्ता गरिदिन प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराए । उनले आफू सधैं पीडितको पक्षमा रहेको बताउँदै सहकारी पीडितहरुको बचत फिर्ता गराउने कार्यमा सधैं साथमा रहने बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यू चुनाव गराउने पैसा सहकारी पीडितलाई दिनुस् । आज सहकारी पीडितहरु पीडामा छन् । म पीडितको पक्षमा उभिने मान्छे हुँ । मैले भुईँ मान्छेको बारेमा बहस गरेको छु । आज म सबैलाई साक्षी राखेर पौने तीन खर्ब रुपैयाँ पीडितले फिर्ता नपाउने बेलासम्म म तपाईँहरुको साथमा छु ।’
वरिष्ठ पत्रकार धमलाले प्रधानमन्त्री कार्कीलाई सहकारी पीडितहरुको पैसा फिर्ता गराएर न्यायको सुरुवात गर्न सुझाव दिए । उनले अहिले सहकारी पीडितहरुको समस्या डरलाग्दो रहेको बताउँदै अब आन्दोलन निष्कर्षमा पुग्ने बताए ।




प्रतिक्रिया