काठमाडौं, ११ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले एमालेका केन्द्रीय सदस्य लेखमान थापा, पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारुसहित ५६ जनालाई पार्टीमा स्वागत गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एमालेलगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने विभिन्न तहका नेताकार्यकर्तालाई संयोजक प्रचण्ड, सहसंयोजक नेपाललगायतका नेताहरूले खादा र माला लगाएर स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुका तर्फबाट सम्बोधन गर्दै पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष थारुले अब पर्सा जिल्लाबाट एमाले बढारिने दाबी गरे । उनले पर्सामा नेकपाको प्रभाव अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
नवप्रवेशीलाई स्वागत गर्दै संयोजक प्रचण्डले यस प्रवेशले पर्सा जिल्लामा नेपाली कम्युनिष्ट पार्टी थप सशक्त बन्ने बताए । उनले पर्सामै भव्य कार्यक्रमबीच पार्टी प्रवेश गराउने योजना भए पनि समय अभावका कारण केन्द्रीय कार्यालय पेरिसडाँडामै कार्यक्रम आयोजना गरिएको बताए ।






प्रतिक्रिया