काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगमा गएर बयान दिनुपर्ने बताएका छन् । प्राइमा टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले आयोगले बोलाएको बेलामा गएर आफ्ना कुराहरु राख्नुपर्ने बताएका हुन् ।
ओलीले आयोग असंवैधानिक र पूर्वाग्रही छ भनेर छुट नपाउने उनको भनाइ छ । ‘मेरो हिसाबले सोध्नुहुन्छ भने– बयान दिन जानुपर्छ । बयान दिने, आफ्ना कुराहरु राख्ने, अनि उहाँहरुले भन्नुहोला केही कुरा,’– उनले भने ।
साथै, उनले आफूहरु निर्वाचनमा एक्लै जाने बताए । नले इलेक्सन अगाडि गठबन्धन नहुने र चुनावपछिको गठबन्धन भने गरेर सरकार बनाउनु आवश्यक रहेको बताए । ‘निर्वाचनपछि गठबन्धन हुन्छ । निर्वाचन अगाडि कांग्रेसले गठबन्धन गर्दैन, गर्न हुँदैन,’– उनले भने ।
साथै, कांग्रेसले पार्टीको १५औं महाधिवेशन गरेर नयाँ नेतृत्वको चयनसहित आगामी फागुन २१ गतेको निर्वाचनमा जाने बताए । उनले पार्टीको १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको पनि बताए । कांग्रेसको नयाँ नेतृत्व आइसकेपछि देशको संकट समाधान गर्न सकिने उनले बताए ।
‘नेपाली कांग्रेसको नयाँ नेतृत्व आइसकेपछि देशको संकट हामी समाधान गर्छौं । देशले भ्रष्टाचार नियन्त्रण गर भनेको छ, सुशासन देउ भनेको छ । सकिँदैन र ? सकिन्छ नि,’– उनले भने ।
उनले अहिले अहिले नेपालमा धार्मिक र जातीय द्वन्द्व हुने परिस्थितिमा रहेको बताए । नेपालको अस्तित्वमा अप्ठ्यारो आइरहेको र त्यसलाई बचाउन आवश्यक रहेको बताए । नेपालीको धर्म, संस्कृति, संस्कार र सभ्यतालाई बचाएर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले नेपाल अहिले धर्मनिरपेक्ष राष्ट्र रहेको बताउँदै त्यसलाई परिवर्तन गर्नका लागि संविधान नै संशोधन गर्नुपर्ने बताए ।




प्रतिक्रिया