काठमाडौँ, १२ पुस । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा पनि खराब रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै वरिष्ठ अधिवक्ता डा.भण्डारीले रवि–बालेनलाई देशलाई तहसनहस पार्ने षड्यन्त्रका गोटीको संज्ञा दिए । देउवा, ओली र प्रचण्डलाई निर्वाचनको माध्यमबाट वैधानिक तरिकाले हटाउन आवश्यक रहेको बताउँदै वरिष्ठ अधिवक्ता डा.भण्डारीले तर विकल्पमा रवि र बालेनलाई लिन नसकिने बताए ।
‘कांग्रेस, एमाले, माओवादीले मुलुकलाई आज यो अवस्थामा पुर्याए । उनीहरुलाई निर्वाचनकै माध्यमबाट वैधानिक तरिकाले हटाउनुपर्ने आवश्यकता मुलुकमा छ । तर, उनीहरुलाई हटाएर उनीहरु भन्दा खराब मान्छे ल्याउनु मुलुकको आवश्यकता होइन । त्यो आजको मुलुकले निकास पाउने बाटो होइन । कांग्रेस, एमाले, माओवादी, राप्रपा, बालेन, रास्वपा बाहिरबाट मुलुकले निकास खोज्नुपर्छ । यिनीहरुबाट देश बन्दैन । यिनीहरु टेस्टेड मान्छे हुन् । यिनीहरु विकल्प होइनन्, मुलुकलाई तहसनहस पार्ने षड्यन्त्रका गोटी भएका मान्छे हुन्,’– उनले भने ।
उनले अहिले मुलुकलाई वैकल्पिक राजनीति नभएर मूलधारको राजनीति चाहिएको बताए । अहिले मुलुकमा राजनीतिलाई अपराधीकरण गरिएको, नागरिकहरुलाई चुस्ने, कमजोर बनाउनेजस्ता किसिमको गतिविधि भइरहेको र मुलुकमा राजनीति नै नरहेको उनको दाबी छ । वैकल्पिक राजनीति भन्दा पनि मुलुकमा साँचो अर्थमा राजनीति चाहिएको उनको धारणा छ ।
साथै, उनले नेपालका मूलधारका भानिएका मिडियाहरुले रवि, बालेनजस्ता मान्छेलाई वैकल्पिक राजनीतिको रुपमा लिएर गलत तरिकाले स्पेस दिइरहेको भन्दै आपत्ति जनाए ।




प्रतिक्रिया