आजपा, जनादेश र लघुवित संघर्ष समितिबीच चुनावी तालमेल एवं सहकार्य हुने


काठमाडौं, १२ पुस । आम जनता पार्टी (आजपा), जनादेश पार्टी र लघुवित संघर्ष समिति.बीचमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी तालमेल एवं सहकार्य गर्ने सहमति भएको छ ।

आजपाको चुनाव चिन्ह ‘मोबाइल’ छापबाट चुनावमा सहभागी हुने सहमती गर्दै अग्रगामी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरुसंग चुनावी सहकार्य एवं तालमेल गरेर दीर्घकालीन वैकल्पिक राजनीतिक धार निर्माण गर्न सहमति भएको हो ।

‘प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारको छनोट आपसी सहमतिको आधारमा गर्नेछौं । अग्रगामी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरुसँग चुनावी सहकार्य एवं तालमेल गरेर दीर्घकालीन वैकल्पिक राजनीतिक धार निर्माण गर्न सहमत भएका छौं,’ तीनै पक्षले आज गरेको सहमती पत्रमा उल्लेख छ ।

देशमा मौलाउँदै गएको चरम भ्रष्टाचार, ठगी र राज्य संयन्त्रको दुरुपयोगका कारण आम नागरिकको जनजीवन असह्य बन्दै गएको वर्तमान यथार्थलाई गम्भीरतापूर्वक आत्मसात गर्दै आजपा, जनादेश पार्टी र लघुबित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको छ ।

लघुवित्त कम्पनी÷संस्थाद्धारा भए गरेका गलत एवं अमानवीय कार्यहरु बिरुद्धमा एकजुट भएर आवाज उठाउने बताइएको छ । अत्यधिक एवं मनोमानी व्याजदर, अनैतिक ऋण असुली र ग्राहकहरुमाथि भएगरेका दुर्व्यबहारका कारण लाखौं नागरिक आर्थिक, मानसिक एवं सामाजिक शोषणको सिकारमा परेको सन्दर्भमा लघुवित्त सहित बैंक तथा वित्तीय संस्थाबाट ठगीएका पीडितहरूको पक्षमा न्याय दिलाउन जारी संघर्षलाई निर्णायक विन्दुसम्म पुर्याउन साझा मोर्चा निर्माण गर्दै कानुनी, राजनीतिक र जनदवाबको शशक्त एवं नतिजामुखी मार्गहरु अपनाउन सहमति भएको बताइएको छ ।

‘देशमा राजनीतिक अस्थिरता, कुशासन तथा वित्तीय शोषण अन्त्यका लागि सडकबाट सुरु भएको जनसंघर्षका आवाजलाई शशक्त रूपमा संसदसम्म पुर्याउदै राज्य संयन्त्रलाई जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ सहमति पत्रमा भनिएको छ ।

यसैगरी, आजको आईटी युगमा सबैभन्दा लोकप्रिय र पहिचान योग्य आम जनता पार्टीको मोबाइल चुनाव चिन्हलाई लघुबित्त संघर्ष समितिले उपयोग गर्ने र आफ्नो मुद्दामा स्वतन्त्र ढंगले प्रचार गर्न पाउने विषयमा सहमत भई चुनावमा एक–आपसलाई सहयोग गर्न गराउन प्रतिबद्ध समेत व्यक्त गरिएको छ ।

आजपाको तर्फबाट अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, तिलक थापा मगर, त्रिभुवन साह, चन्द्रभुषण साह, जनादेश पार्टीको तर्फबाट अध्यक्ष रमण कर्ण, संघर्ष समितिको तर्फबाट पुनाराम ज्ञवाली (मनिराम), अगस्त अधिकारी, मनी प्रसाद चौलागाई, अर्जुन विश्वकर्मा, आशा सञ्जेललगायतले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।