काठमाडौं, १२ पुस । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको भविष्य सम्झिएर स्थिर र दीगो लोकतन्त्रको सुनिश्चितताको लागि निर्वाचन सफल पानुपर्ने बताएकी छन् । पूर्व प्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री कार्कीले चुनाव सफल पार्नु सबैको कर्तव्य रहेको बताएकी हुन् ।
‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ,’– प्रधानमन्त्री कार्कीले भनिन् ।
साथै, प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पाएको चुनाव गराउने कार्यदेशअनुसार आफूहरु चुनावको तयारीमा रहेको बताईन् । उनले प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक आफूसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसके पनि बताईन् ।
‘यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।
मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ,’– प्रधानमन्त्री कार्कीले भनिन् ।
प्रधानमन्त्री कार्कीले आफूहरुले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको पनि बताईन् । उनले भनेजति नै स्रोतसाधनको व्यवस्था गरेको दाबी गरिन् । सुरक्षाकर्मीको मनोबल बढेकोसमेत उनले दाबी गरिन् ।




प्रतिक्रिया