आयोगद्वारा अन्तिम मतदाता नामावली प्रकाशन, वेबसाइटबाट हेर्न सकिने


काठमाडौं, १२ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले प्रकाशन गरेको मतदाता नामावलीअनुसार अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरूष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य २ सय गरी जम्मा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता समावेश भएका छन्।

सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ । ‘संवत् २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय भएको छ। मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ,’– आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

२०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १८५ गरी कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका थिए । २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९ लाख १५ हजार १ सय १९ ले वृद्धि भएको छ ।

यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्नका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो निर्वाचनमा २०७९ को कुल मतदान स्थलको संख्या भन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको बताइएको छ ।