काठमाडौं, १२ पुस । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री सुशीला कार्कीबाट नै जेन–जी युवाहरुलाई अपराधी करार गर्ने काम भइरहेको टिप्पणी गरेका छन् । जेन–जी विद्रोहबाट बनेको सरकारले उनीहरुलाई नै अपराधीकरण गर्न खोजेको, सीसीटीभी हेरीहेरी कारबाहीको डण्डा चलाउन खोजिएको महासचिव विप्लवले बताएका हुन् ।
उनले भने ‘त्यही विद्रोहबाट आउने सुशीला कार्कीको सरकार । अनि उहाँले चाहिँ आफूलाई सत्तामा ल्याउने मान्छेलाई अपराधी करार गर्न खोज्ने हो भने अनि यो देशको हालत के हुन्छ ?’
विप्वले अहिले नेपालको राजनीति संक्रमणकालीन अवस्थामा रहेको पनि बताए । उनले जेन–जी विद्रोह असफल भइसकेको दाबी गरे । विगतमा माओवादीलाई उग्रवादी, आतङ्ककारी भनेर ब्याख्या गरिएको जस्तै अहिले जेन–जीको असफलतालाई अर्को ठाउँमा लगेर दुरुपयोग गर्न र अपव्याख्या गर्न खोजिएको विप्लवले बताए ।
उनले भदौ २३ र २४ गते जेन–जी विद्रोहमा सहभागी भएका युवा तथा जति पनि मानिसहरुलाई एमाले, कांग्रेस, माओवादीको नाममा संज्ञा दिनु गलत रहेको बताए । उनले विद्रोहमा गएकाहरुलाई विद्रोही बाहेक माओवादी, एमाले र कांग्रेसको नाम दिन नसकिने बताए । ‘विद्रोहमा सहमत भएर जति पनि लड्न गए, ती विद्रोही हुन् । भदौ २३ र २४ गते जति पनि युवाहरु सडकमा निस्के, त्यो त यो व्यवस्थाबाट वाक्कदिक्क भएर परिवर्तन खोज्न हिँडेका मान्छेहरु हुन् । यसलाई फेर्नुपर्छ भनेर सडकमा आएका हुन्,’– उनले भने ।




प्रतिक्रिया