काठमाडौं, १४ पुस । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सर्वपक्षीय सरकार बनाएर, सबै राजनीतिक दललाई विश्वासमा लिएर निर्वाचन गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै विप्लवले अहिलेकै अवस्थामा फागुन २१ गते निर्वाचन हुनेमा भने शंका रहेको बताएका हुन् । उनले जेन–जी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले पनि केही परिणाम दिन नसकेको बताए ।
सरकारको निर्माण गर्ने प्रक्रियामा छलफल नै नपुगेको उनले बताए । सरकारले सबै पक्षलाई विश्वस्त बनाउन नसकेकाले आफूहरुले सर्वपक्षीय सरकारको कुरा गरेको बताए । त्यति ठूलो जेन–जी विद्रोह केवल केपी शर्मा ओलीको सरकारलाई हटाउने र सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने कुरामा मात्रै सीमित भएको उनले बताए । अब हुने निर्वाचनले जेन–जी आन्दोलनले चाहेको जस्तो परिवर्तन ल्याउँछ भन्ने कुराको विश्वास गर्न सकिने आधार नरहेको उनले बताए ।
‘हामीले सर्वपक्षीय सरकार भनेको हो । न भ्रष्टाचारको विरुद्धमा ठोस कदम, न संविधानको बारेका केही कुरा, न प्रत्यक्ष निर्वाचनद्वारा कार्यकारी प्रमुखको कुरा छ ? यत्रो विद्रोह त केवल केपी ओलीको सरकारलाई हटाउने र सुशीला कार्कीको सरकार बनाउनेमा मात्रै सीमित भयो नि । अब हुने निर्वाचनले जेन–जी आन्दोलनले चाहेजस्तो परिवर्तन ल्याउँछ भन्ने देखिएन नि त,’– उनले भने ।
उनले राजनीतिक सहमति गरेर सर्वपक्षीय सरकार बनाउनेतिर जानुको विकल्प नरहेको बताए । एमालेलगायत अरु दलहरुको पनि प्रस्ताव सर्वपक्षीय सरकार भन्ने नै रहेको उनले बताए । महासचिव विप्लवले यद्यपि आफूहरु चुनावबाट नभाग्ने बताए ।
त्यस्तै, ‘तपाईँ एमालेसँग चुनावमा सहकार्य गरेर जाने भन्ने हल्ला छ । त्यो कत्तिको सम्भव छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘सकेसम्म वामपन्थीहरुको बीचमा, कम्युनिष्टहरुको बीचमा सहकार्य होस् भन्ने त हाम्रो हुने नै भयो । अहिले त हामी एक्लै तयारी गरिरहेका छौं । मोर्चाबन्दीको स्थितिमा चाहिँ मिल्नेसम्म कम्युनिष्टहरुको बीचमा छलफल होस् भन्ने छ । एमालेसँग र अन्य कम्युनिष्ट पार्टीहरुसँग पनि छलफल हुन सक्ने भयो ।’
विप्लवले एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने भन्ने कुरामा सत्यता नरहेको बताए । कुनै दलले पनि प्रत्यक्ष निर्वाचनको बारेमा कुनै पनि निर्णय नलिएको बताउँदै उनले कोसँग सहकार्य गर्ने भन्ने छलफल हुन बाँकी रहेको बताए ।




प्रतिक्रिया