ढोरपाटना (बागलुङ) २२ पुस । उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजनामा भएको बागलङ महोत्सवमा आठ करोडको कारोबार भएको छ । सङ्घका अनुसार महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरिएका छन् ।
बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव यही पुस २२ गतेसम्म सञ्चालन गरिएको थियो । महोत्सवमा विभिन्न व्यासायिक स्टल साथै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘मेड इन बागलुङ’ नाम दिएर वागलुङमा उत्पादन हुने वस्तुको विक्री वितरण तथा प्रदर्शन निकै महत्वपूर्ण रहेको थियो ।
महोत्सवमा निसीखोलामा भेंडाको उनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रक, भाँगो, मकैको पिठो, कोदोको पिठोलगायत वस्तु, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवीलगायतका स्थानीय उत्पादनले बजार पाएको जनाइएको छ ।
महोत्सवमा अटो मोबाइलदेखि होटल रेष्टुरेण्ट र विभिन्न प्रकारका व्यापारिक स्टलहरु राखिएको थियो । स्टलमा पनि उल्लेखनीय व्यापार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । महोत्सवमा रमाईलो मेला सञ्चालन गर्नुका साथै गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरीगित प्रतियोगिता, महिलाहरुका लागि लठ्ठो तान्ने प्रतियोगिता, घैटोफोर प्रतियोगिता, भाले छुनेलगायन विभिन्न प्रतियोगिता संचालन गरिएको थियो ।
सङ्घले महोत्सवबाट सङ्कलन भएको रकमबाट सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रम बागलुङका लागि पाँच लाख ११ हजार १११ लाख र नेपाल पत्रकार महासङ्घ बागलुङका लागि एक लाख सहयोग प्रदान गरेको सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिए । महोत्सवबाट बचेको रकम व्यावसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोशेली घर सञ्चालन आदिमा खर्च गरिनेछ । रासस




प्रतिक्रिया