प्रधानमन्त्रीले राजीनामा मागेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता घुम्नकै लागि अमेरिका जाने तयारीमा, मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराए


काठमाडौं, २३ पुष । सुशीला कार्की नेतृत्वको वर्तमान नागरिक सरकारमा बसेका मन्त्रीहरु दलीय राजनीतिमा सक्रिय हुन थालेपछि सरकारकै आलोचना हुन थालेको छ । जेन–जी आन्दोलनपछि गठित यो नागरिक सरकारमा गैरदलीय व्यक्तिहरुलाई मन्त्री बनाईएको भनिएको थियो । तर, अहिले सरकारमा महत्वपूर्ण मन्त्रालय जिम्मा लिएका मन्त्रीहरु नै दलीय राजनीतिमा सक्रिय हुन थालेपछि प्रधानमन्त्री कार्कीले उनीहरुको राजीनामा मागेकी छिन् ।

प्रधानमन्त्रीले राजीनामा मागेका मन्त्रीहरुमा उर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् । यी तीनै जना मन्त्री यतिवेला रवि लामिछाने नेतृत्वको रास्वपामा आवद्ध भएका छन् । कुलमानलाई त रवि र बालेन शाहपछिको वरियता दिईएको छ । तर, कुलमानले सार्वजनिक रुपमा आफू दलको सदस्य नभएको भन्दै राजीनामा नदिने जिद्दी गरेका छन् । बब्लु गुप्ता कुलमान, रवि र बालेनबीच सहमति हुँदा सँगै थिए ।

उनीपनि रास्वपामा समाहित भएको भनिएको छ। उनी रास्वपाबाटै २१ फागुनको प्रतिनिधिसभाको निर्वाचन लड्नेगरि अघि बढेका छन् । उता, सञ्चारमन्त्री खरेलपनि रास्वपाबाट प्रतिनिधिसभाको निर्वाचन ललितपुरबाट लड्ने तयारीमा छन् । उनीहरुको तयारी र दलमा आवद्धता थाहा पाएपछि प्रधानमन्त्री कार्कीले राजीनामा मागेकी छिन् ।

तर, उनीहरु कुनैपनि हालतमा चुनावको मुखसम्मै सरकार नछोड्ने मनस्थितिमा छन् । अझ रोचक त के भने युवा तथा खेलकुदमन्त्री गुप्ता गैरसरकारी कार्यक्रममा भाग लिन भनेर अमेरिका जाने भएका छन् । नागरिक सरकारमा बसेका मन्त्रीहरुको जिम्मा चुनाव गराउनु प्रमुख दायित्व हो । तर, गैसरकारी कार्यक्रममा भाग लिनको लागि खेलकुदमन्त्री अमेरिका जान लागेका छन् । उनको भ्रमण मन्त्रिपरिषद्बाट समेत स्विकृत भइसकेको छ ।

मन्त्रिपरिषदको यही पुष २१ गते बसेको बैठकको निर्णयको ८ नम्बरमा उनको अमेरिका भ्रमण स्विकृतबारे उल्लेख छ । जहाँ भनिएको छ,‘२०८२ माघ ३ गते संयुक्त राज्य अमेरिकामा आयोजना हुने रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोष्ट जेन–जी सम्बन्धी कार्यक्रममा सहभागी हुन माननीय युवा तथा खेलकुदमन्त्रीलाई स्वीकृति प्रदान गर्ने ।’

अहिले मुलुक विषम परिस्थितिमा छ । चुनाव गराउने दायित्वमा रहेको सरकारका मन्त्रीहरु आफुखुशी विदेश शयरमा जान खोज्नु सुशासनको धज्जी उडाउनु हो । गैरआवासीय नेपाली संघको आयोजनामा कार्यक्रम गर्ने भनिएको छ । तर, अहिलेसम्म यो कार्यक्रमको तयारीबारे अमेरिकाको गैरआवासीय नेपाली संघले कुनै प्रचारप्रसार भने गरेको पाईएको छैन । कतिपयले मन्त्री गुप्ताले अमेरिका घुम्नकै लागि यस्तो कार्यक्रम आँफै बनाउन लगाएको भनेर आलोचना गर्न थालेका छन् ।