काठमाडौं, २३ पुष । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले देश बनाउन आफू मैदानमा उत्रिएको घोषणा गरेका छन् । जेन–जी जनविद्रोहपछिको बृहत्त अन्तरक्रियालाई सम्बोधन गर्दै धमलाले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार अघि बढ्ने बताए ।
जेनजी आन्दोलनको आलोकमा जन्मिएको वर्तमान सरकारले आन्दोलनको मर्म र भावनाअनुसार चल्न नसकेको उनको गुनासो छ । उनले आफू पहिलो जनआन्दोलनदेखि नै सक्रिय भूमिका खेलेको व्यक्ति र पहिलो जनआन्दोलनको क्रममा पनि आफू २७ पटक गिरफ्तार भएको र ३५ दिन हिरासतमा बसेको पनि स्मरण गराए । उनले लोकतन्त्र ल्याउनको लागि आफूले सक्रिय भूमिका खेलेको दाबी गरे ।
देशका शासकहरुले सत्तामा पुगेपछि आफ्नो लागि मात्रै काम गरेको र नातावाद–कृपावादको लागि मात्रै काम गरेको कारण देश पछि परेको उनको गुनासो छ । उनले ०७२ को संविधानपनि आज संकटमा रहेको खतरा औंल्याए । उनले संविधान बचाउनको लागि पनि जेनजी पुस्ता अघि सर्नुपर्ने बताए । तर, आज जेनजी पुस्तापनि दलीय राजनीतिमा लागेको धमलाको गुनासो छ ।
भदौ २३ र भदौ २४ गतेको कहालीलाग्दो दिनको अवस्था कसैले पनि भुल्न नसक्ने उनको भनाई छ । उनले अहिले निर्वाचनमा जानसक्ने आधार के हो भनेर जनताले भन्ने बेला आएको बताए । उनले देशको आवश्यकता भनेको नै सबै शक्तिबीच सहकार्य रहेको औंल्याए । उनले कुनैपनि शक्तिलाई माईनस गरेर जान नसक्ने बताए । उनले वर्तमान सरकारले सुशासन दिन नसकेको भनेर आलोचना भइरहेको भन्दै यसतर्फ सोच्न पनि आग्रह गरे ।
उनले वर्तमान सरकार दलीय सरकार नभएकोले कुलमान घिसिङले तत्काल राजीनामा दिनुपर्ने सुझाव दिए । उनले कुलमान अब रास्वपाको उपसभापति भइसकेको भन्दै राजीनामा दिन सुझाएका हुन् । उनले भने,‘कुलमानजी तपाईं कुशल प्रशासक होला, तर तपाईंले कुनैपनि दलमा छैन भनेर भन्न मिल्छ ? रास्वपाको उपसभापति हो तपाईं, प्रधानमन्त्रीले त तपाईंहरुको राजीनामा मागिसक्नुभएको छ, तर कुलमानजीले म कुनै पनि दलमा छैन भनेर भनिरहनुभएको छ । यो सरकारको दायित्व भनेको चुनाव गराउने हो । जनताको चाहना पनि निष्पक्ष र धाँधलीरहित निर्वाचन नै हो । युवा पुस्तालाई यही देशमा बस्ने र रोजगारीको वातावरण बनाउने कि नबनाउने ?’
सो क्रममा उनले आफू जनताले चाहे राजनीतिमा आउने सम्भावना रहेको सुनाए । तर, भ्रष्टाचारीलाई भने देशबाट निमिट्यान्न पार्ने उनको चेतावनी छ । उनले भने देशमा स्वास्थ्य, शिक्षा र रोजगारी मुख्य मुद्दा भएको बताए । देशमा उचित लगानीको वातावरण बनाउनुपर्ने उनको भनाई छ ।
धमलाले राष्ट्रको हितलाई शिरोपर गर्दै आफू अघि बढ्ने बताए । उनले देशको विदेश नीति र आर्थिक नीतिलाई पनि सवल बनाउनुपर्ने बताए । उनले वैकल्पिक राजनीतिक शक्तिहरुलाई पनि मिलेर अघि बढ्न सुझाव दिए । उनले देशलाई बनाउनको लागि आरोप, प्रत्यारोप र आलोचनाबाट मुक्त हुनुपर्ने तर्क गरे ।
उनले अहिले जनताको साथमा उभिने र बस्ने नेता चाहिएको बताए । उनले भने,‘नेता भनेको इमानदार हुनुपर्छ । दुरदर्शी हुनुपर्छ । फराकिलो हृदय भएको हुनुपर्छ । नेता बन्नको लागि धेरै गुण हुनुपर्छ । धेरैसँग मिलेर काम गर्नसक्नुपर्छ । ऋषि धमलाले यो ३० वर्षको पत्रकारिताको यात्रामा धेरै शक्तिलाई मिलाएर अघि बढाएको छ ।’




प्रतिक्रिया