काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता मधु आचार्यले आफूहरु अहिले ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको प्रतिनिधित्व गरेर अगाडि बढिरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरुको संख्या अझै बढ्ने क्रममा रहेको बताएका हुन् । उनले समानुपातिक निर्वाचनका उम्मेदवार र राष्ट्रिय सभाका उम्मेदवार चयन गर्दा देखिएको प्रवृत्तिले महाधिवेशन प्रतिनिधिहरु झनै रुष्ट भएको बताए ।
उनले विशेष महाधिवेशन विधानसम्मत नै रहेको बताए । विधानको धारा १७ (२) मा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले आवश्यक ठानेर विशेष महाधिवेशन माग गरेमा अनिवार्य बोलाउनुपर्ने छ भन्ने व्यवस्था रहेको उनले बताए । यस्तो अवस्थामा केन्द्रीय समितिले नबोलाए पनि ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको माग भएको अवस्थामा विशेष महाधिवेशन बस्न सक्ने बताए ।
साथै, उनले अब पार्टी सभापति शेरबहादुर देउवाको सही समय आएको र विशेष महाधिवेशन बोलाउन सहज वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ । जनताले अपेक्षा गरेको कांग्रेस बनाउने बाटोमा पार्टी सभापति शेरबहादुर देउवा जान आवश्यक रहेको उनले बताए । नेता आचार्यले विशेष महाधिवेशनकै कारणले पार्टी एकताको विरुद्धमा सभापति देउवा नजाने विश्वास व्यक्त गरे । उनले भने, ‘पार्टी एकताको विरुद्धमा सभापति जानु हुन्न । पार्टी रुपान्तरित गर्नुपर्छ भन्ने आवश्यकता देखिएको छ । हामी पार्टीको एकता पनि बताउँछौं र जनताको अपेक्षाअनुसारको कांग्रेस पनि बनाउँछौं,’– उनले भने ।
अहिलेकै नेतृत्व, नीति, कार्यक्रम लिएर चुनावमा जान नसकिने र परिवर्तन जरुरी छ भन्ने कुरा सबै महाधिवेशन प्रतिनिधिलाई जानकारी रहेको उनले बताए । नेता आचार्यले विशेष महाधिवेशन विशाल अनुष्ठान बन्ने दाबी गरे । विशेष महाधिवेशन माग भएको ५४ प्रतिशत हस्ताक्षरमा एउटा मात्रै पनि फर्जी रहेको अवस्थामा आफू जुनसुकै कारबाही पनि भोग्न तयार रहेको बताए । बरु कयौं महाधिवेशन प्रतिनिधिहरु छुटुको, तर ५४ प्रतिशतभन्दा प्रतिनिधिको संख्या नघट्ने उनले दाबी गरे । उनले कांग्रेस फुटाउने कसैको आकांक्षा भए पनि पार्टी विभाजन हुन नदिइने र सबै एक ढिक्का भएर अगाडि बढ्ने उनले बताए । नेता आचार्यले पार्टी, देश र जनतालाई राम्रो बनाउने बाहेक आफूहरुको कुनै स्वार्थ नरहेको बताए ।
साथै, उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आफू दैनिक छलफलमा रहेको बताए । गगन र विश्वमा पार्टी फुटाउने कुनै चाहना नरहेको बताए । उनले विशेष महाधिवेशनको मागबाट आफूहरु पछि हट्ने अवस्था नरहेको बताए । उनले विशेष महाधिवेशनको पक्षमा उभिएको कारण आफूहरुले कुनै कारबाही भोग्नुपर्ने भएमा हाँसीहाँसी तयार रहेको बताए ।




प्रतिक्रिया