काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टी विशेष महाधिवेशनको पक्षमा नजाने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नियमित महाधिवेशनबाट मात्रै पार्टीको आमूल रिफर्म हुनसक्ने बताए । विशेष महाधिवेशनमा पुरानै महाधिवेशन प्रतिनिधिबाट बहस र छलफल हुने भएकाले नयाँ पुस्ताको निषेध देखिने उनले बताए ।
उनले आफूले नियमित महाधिवेशन समयमा नै हुनुपर्ने भनेर लामो समयदेखि आवाज उठाउँदै आएको बताए । अब सबै मिलेर संसदीय निर्वाचनमा भाग लिने र त्यसलगत्तै पार्टीको महाधिवेशनमा जानुपर्ने बताए । ‘नियमित महाधिवेशनमात्रै गर्नुपर्छ । मंसिरभन्दा अगाडि पार्टीको महाधिवेशन गर्नुपर्छ भनेर हामीले एक वर्ष अगाडिदेखि भनेका थियौं,’– उनले भने ।
नियमित महाधिवेशनको लागि अब ३ महिना पर्खिँदैमा कांग्रेसलाई कुनै ठूलो क्षति नहुने उनले बताए । कांग्रेसको वैशाखमा हुने नियमित महाधिवेशनमा नै जानुु उपयुक्त हुने उनले बताए । कांग्रेस आमूल रुपमा सच्चिन जरुरी रहेको पनि उनले बताए । भाषण मिठो गर्ने र आफू पदमा पुगेपछि कुनै काम नगर्ने नेताहरु सच्चिन जरुरी रहेको उनले बताए ।




प्रतिक्रिया