कांग्रेस-एमालेको गठबन्धन राष्ट्रिय सभा निर्वाचनसम्म मात्रै होईनः ज्वाला कुमारी साह


काठमाडौं, २४ पुस । नेकपा (एमाले) की नेतृ एवं पूर्व मन्त्री ज्वाला कुमारी साहले कांग्रेस–एमालेको गठबन्धन लामो समयसम्म अगाडि जाने बताएकी छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेको गठबन्धन राष्ट्रिय सभा निर्वाचनका लागि मात्रै नरहेको बताएकी हुन् । उनले एमाले र कांग्रेस एक ठाउँमा भएर देश बचाउने पंक्तिमा उभिनुपर्ने बताईन् ।

‘सही निकासको लागि, देशलाई सही ट्रयाकमा ल्याउनका लागि एमाले र कांग्रेसले गठबन्धन गरेको हो । यो राष्ट्रिय सभा निर्वाचनको लागिमात्रै होइन । अहिलेको परिस्थितिले के भनिराखेको छ भने कांग्रेस र एमाले एक ठाउँमा भएर देशलाई बचाउने पंक्तिमा लाग्नुपर्छ भनेर हामी लागिराखेका छौं,’– उनले भनिन् ।

उनले लोकतन्त्रको अन्तिम फैसला सडकबाट नभएर मतपेटिकाबाट हुनेपर्ने बताईन् । उनले अहिलेको सरकारले समयमा चुनाव गराउनुपर्ने बताईन् । अहिलेको संसद् विघटन गरेर चोर बाटोबाट बनेको सरकारले समयमा चुनाव गराउन सक्नेमा आशंका रहेको पनि उनले बताईन् ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकार विदेशी आईएनजीओको इसारामा बनेको र यसले जनताको विश्वास जित्न नसक्ने उनको भनाइ छ । वर्तमान सरकारका मन्त्रीहरु पदमा बसेर, राज्यको सुविधा प्रयोग गरेर आफैं रेफ्री र आफैं खेलाडी बनिरहेको टिप्पणी गरिन् ।