कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै प्रतिस्पर्धा गर्छ, कार्यकर्ताहरुले रुखबाहेक अन्त भोट हाल्नुपर्दैनः अमरसिंह पुन


काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता अमरसिंह पुनले पार्टीले १६५ वटा निर्वाचन क्षेत्रमा एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले आगामी आम निर्वाचनमा कुनै दलसँग पनि गठबन्धन नहुने बताएका हुन् । कांग्रेसको महासमिति बैठकले पनि चुनाव अगाडि कुनै दलसँग गठबन्धन नगर्ने निर्णय पारित गरेको उनले बताए । कांग्रेसको केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णयलाई नउल्ट्याओस् भनेर नै आफूहरुले विशेष महाधिवेशन आह्वान गरेको उनले बताए । आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा कांग्रेसका कार्यकर्ताहरुले रुख चिन्हमा नै मतदान गर्न पाउने उनले बताए ।

‘१६५ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । मित्रवत प्रतिस्पर्धा गर्छ । यही हो कांग्रेसको धारा । महासमिति बैठकको निर्णयलाई केन्द्रीय समितिको बैठकले तोडमोड गर्छ कि भनेर विशेष महाधिवेशन हुँदैछ । अहिले नेपालको राजनीतिलाई चाहिने मुद्दा, नेपाली नागरिको हितमा कांग्रेसको धारणा पारित गरेर नयाँ नीति, नेतृत्वसहितको जनताबीचमा हामी जान्छौं । यसपटक १६५ वटै निर्वाचन क्षेत्रमा रुखबाहेक अन्त भोट नहाल्ने सुनिश्चित गरेर हामी अगाडि जान्छौं,’– उनले भने ।

साथै, उनले विशेष महाधिवेशन भएकै कारण पार्टी नफ्ट्ने दानबी गरे । विशेष महाधिवेशनबाट नयाँ नीति र नेतृत्वसहित कांग्रेस जनतामाझ जाने उनको भनाइ छ । उनले भने, ‘पार्टी फुटाउने काम गर्दैनौं । यो पार्टी फोरेर हामी अर्को पार्टी बनाउँदैनौं । विधि र विधानसम्मत हामी विशेष महाधिवेशनबाट नयाँ नीति र नेतृत्वसहित कांग्रेस एक ढिक्का राख्छौं ।’

विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पनि आउने उनले बताए । विशेष महाधिवेशनलाई धेरैभन्दा धेरै केन्द्रीय सदस्यहरुले सम्बोधन गर्ने उनको भनाइ छ । ‘सभापतिज्यूहरु आउनुहुन्छ । आउनुभएन भने पनि पार्टी फुट्दैन । विशेष महाधिवेशनमा धेरैभन्दा धेरै केन्द्रीय समितिका नेताहरु आउनुहुन्छ । यो पार्टी फोर्नका लागि होइन, अझ सशक्त र एकढिक्का बनाउनका लागि हो,’– उनले भने ।