प्रचण्ड-माधवले युवामा नेतृत्व हस्तान्तरण गर्ने लिखित प्रतिवद्धता गर्नुभएको छ, जेन-जी आन्दोलनको मागअनुसार अगाडि बढ्छौंः सुदेश पराजुली


काठमाडौं, २४ पुस । नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले अबको निर्वाचनमा एजेण्डालाई हृदयमा राखेर जनतासँग मत र मन माग्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन दर्गै उनले अबको निर्वाचन एजेण्डामुखी बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अबको चुनाव भनेको एजेण्डालाई हृदयमा राखेर जनतासँग मत र मन माग्नुपर्ने दिनको सुरुवात हो । राष्ट्रिय सभाको निर्वाचनमा हामी एकल जान्छौं । यसमा हार अथवा जित होइन, निर्वाचन भनेको एजेण्डामुखी बनाउनुपर्छ भन्ने हामी स्थापित गराउन चाहन्छौं ।’

साथै, उनले जेन–जी आन्दोलनको चाहनाअनुरुप अब नेकपाको नेतृत्व परिवर्तन हुने बताए । उनले पार्टीको आगामी महाधिवेशनपछि युवामा नेतृत्व हस्तान्तरण गर्ने भनेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले लिखित प्रतिवद्धता गरेको पनि दाबी गरे । उनले भने, ‘प्रचण्ड, माधव नेपालले आउँदो महाधिवेशनमा हामी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छौं भनेर लिखित प्रतिवद्धता व्यक्त गर्नुभएको छ । हामीले त्यो कुरा त विश्वास गर्नुपर्यो नि ।’

उनले नेपाली कांग्रेस ओलीको निरङ्कुशतामा छोपिएको दाबी गरे । एमाले अध्यक्ष ओली सरकारको नेतृत्वमा भएको बेलामा देशको सावैभौमिकतामाथि बलमिच्याईँ हुने गरेको पनि उनले बताए । नेता पराजुलीले एमाले अध्यक्ष ओलीको अहंकार, दम्भ र अन्धविश्वासको कारण देशमा जेन–जी विद्रोह भएको पनि दाबी गरे ।

जेन–जी आन्दोलन हाइज्याक भएको उनले बताए । नेता पराजुलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु जेन–जी आन्दोलनको उद्देश्य नरहेको बताए । जेन–जी आन्दोलनबाट चर्चामा आएका व्यक्तिले सपोर्ट गरेका मन्त्री बब्लु गुप्ताले ‘मलाई अमेरिका जान देऊ’ भन्दै भिख मागिरहेको उनले टिप्पणी गरे ।