‘विशेष महाधिवेशन माग्ने गगन-विश्व होइनन्’


काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग नगरेको बताएका छन् । आज (बिहीबार) पार्टीको कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूहरु भन्दा पनि सिनियर ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको मागबमोजिम विशेष महाधिवेशन हुन गइरहेको बताएका हु्न् । उनले विशेष महाधिवेशनको आयोजना विधानसम्मत रहेको दाबी गरे ।

‘विशेष महाधिवेशन माग्ने त हामी होइन नि त । त्यो त हामीभन्दा धेरै सिनियर नेताहरु रहेको ४० प्रतिशतभन्दा बढी मान्छेहरु हुन् । यो कुरा महामन्त्रीसँग जोडिएको छ, यिनीहरुलाई पेल्नुपर्छ, ठेल्नुपर्छ भन्दै गर्दाखेरी त्यो ख्यालै गरिएन,’– महामन्त्री थापाले भने ।

साथै, विधानको कार्यान्वयन गर्दाखेरी पार्टीलाई विभाजनतिर लैजान्छ भन्ने कुराको हौवा पिट्ने काम भएको पनि उनले बताए । बरु ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको मागलाई सम्बोधन नगरिँदाको अवस्थामा भने पार्टी विभाजनतर्फ जाने खतरा रहेको उनले बताए ।

महामन्त्री थापाले कांग्रेस कमजोर बनाउन, विग्रह ल्याउनका निमित्त आफूहरुले विशेष महाधिवेशनको माग नगरेको बताए । उनले आफूहरुलाई पनि पार्टीप्रतिको चिन्ता उत्तिकै रहेको बताउँदै कांग्रेसलाई जोड्नका लागि विशेष महाधिवेशन आह्वान गरिएको बताए ।