काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका नेता रमेश धमलाले पार्टीको विशेष महाधिवेशन विधानसम्मत रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेपछि यो बाध्यकारी रहेको बताएका हुन् । उनले विशेष महाधिवेशन बोलाउनुपर्ने कुरा विधानमा प्रष्ट लेखिएको र ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधान महाधिवेशन माग गरिएको बताए ।
‘महाधिवेशन प्रतिनिधिहरुको ४० प्रतिशत हस्ताक्षर संकलन गरेर कारण खुलाइ केन्द्रमा आवेशन गरेको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ भनेर प्रष्ट लेखिएको छ,’– नेता धमलाले भने ।
अहिले विषम परिस्थिति रहेको बताउँदै उनले यस्तो अवस्थामा विशेष महाधिवेशन अपरिहार्य रहेको बताए । केन्द्रीय समिति, कार्यसम्पादन समितिलगायतका बैठकमा संस्थापन पक्षले बहुमतको नाममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतलाई कर्नरिङ गर्ने प्रयत्न भएको उनले बताए । कांग्रेसको अहिलेको विद्यामान कार्यसम्पादन समिति नसुध्रिएको र कार्यकर्तालाई गुमराहमा राख्ने प्रयास भएको बताए । उनले विधान महाधिवेशनबाट कांग्रेस नफुट्ने दाबी गरे ।
उनले भने, ‘कांग्रेस फुट्दैन । हामी भाग्दैनौ, लुक्दैनौं । हामी छोड्दैनौं । महाधिवेशन प्रतिनिधिहरु पनि हाम्रा नेताहरु हुनुहुन्छ । महाधिवेशन भनेको हाम्रो सर्वोच्च निकाय हो । महाधिवेशन प्रतिनिधिहरुलाई काठमाडौं बोलाउन पत्राचार गरिसकिएको छ । विशेष महाधिवेशनमा उहाँहरुको उपस्थितिको हामीले अपेक्षा गरेका छौं ।’
आम जनताले चाहना गरेजस्तो पार्टी निर्माण गर्ने दायित्वअनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा अगाडि बढेको उनको भनाइ छ । उनले कांग्रेसलाई समयसापेक्ष बनाउने उद्देश्यले विशेष महाधिवेशन माग गरिएको बताए ।




प्रतिक्रिया