काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले विशेष महाधिवेशनका लागि केन्द्रीय समितिको निर्णय आवश्यक पर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय समितिको निर्णय नरहेको अवस्थामा आफूहरु विशेष महाधिवेशनको पक्षमा नरहेको र नियमित महाधिवेशनबाटै निकास दिनुपर्छ भन्ने पक्षमा रहेको बताएका हुन् । उनले भने, ‘हामी विशेष महाधिवेशनको पक्षमा छैनौं । नियमित महाधिवेशनबाट निकास दिनुपर्छ ।’
उनले अहिले विशेष महाधिवेशन गर्ने उपयुक्त समय नरहेको बताए । अन्य दलहरु चुनावको तयारीमा लागिरहेको बेलामा कांग्रेस भने आन्तरिक कलहमा लाग्न नहुने उनको भनाइ छ । अहिले कांग्रेसलाई कसरी फुटाउने भन्नेबारेमा प्रयास भइरहेको उनले बताए । अब निर्वाचनपछि अधिवेशन गराउने गरी अगाडि बढ्न आवश्यक रहेको उनले बताए । निर्वाचन नजिकै भएको कारण अहिले विशेष महाधिवेशनमा होमिन नसकिने उनले बताए ।
‘निर्वाचन नभइदिएको भएदेखि हामी यसैमा होमिन्थ्यौं । एउटा निष्कर्षमा पुग्थ्यौं । अगाडि निर्वाचन छ । राष्ट्रिय सभा, प्रतिनिधिसभा निर्वाचनको तयारी छ । हामी आफूभित्रको जुन लडाइँ छ, अहिले तत्काल थाँती राख्न आवश्यक छ । महामन्त्री शर्माको जसरी वक्तव्य आइराखेको छ– गगन, विश्वजी कसैले पनि चाहन्न यो पार्टी फुटोस्,’– उनले भने ।
विगतको इतिहासलाई हेरेर मिलेर जानुबाहेक अर्को विकल्प नै नरहेको उनले बताए । उनले महामन्त्रीद्वय र संस्थापन पक्षको बीचमा विशेष महाधिवेशन नभएर अर्को कुनै निकास निस्किने बताए । विशेष महाधिवेशन आफूलाई उचित नलागेको बताउँदै उनले महामन्त्रीद्वय शर्मा र थापालाई राजनीतिमा धैर्यता राख्न आग्रह गरे । नेतृत्व लिने हो भने अली गम्भीर हुनका लागि उनले महामन्त्रीद्वयलाई आग्रह गरे । निर्वाचन मुखमा आइसकेको अवस्थामा समयअनुसार विशेष महाधिवेशन अनुकूल नभएको उनको दाबी छ ।




प्रतिक्रिया