हामी बोल्नेमात्रै होइन, विशेष महाधिवेशन गरेर पनि देखाउँछौंः कांग्रेस नेता घिमिरे (भिडिओसहित)


काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनले पार्टी फुट्छ भनेर अतिरञ्जनापूर्ण प्रचार भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पार्टीको विधानमा भएको प्रावधानको प्रयोग गर्दा कांग्रेस नफुट्ने बताए । विशेष महाधिवेशनले पार्टीलाई आन्तरिक रुपबाट बलियो बनाउने, ग्रासरुटदेखि केन्द्रसम्म एकाकार गर्ने र पार्टी परिवारलाई एकै ठाउँ बसेर छलफल गरी भविष्यको बाटो तयार गर्ने उनले बताए ।

‘पार्टी विभाजनका लागि यहाँ कुनै पनि ठाउँ छैन । हामीले तीन महिना अगाडि नै यो प्रस्ताव दर्ता गराएको हो । भदौ २३ र २४ गते देशमा असामान्य परिस्थिति निर्माण भयो, पार्टीहरुमाथि प्रश्न उठ्यो । त्यो प्रश्नको यथोचित जवाफ दिनुपर्छ । नियमित महाधिवेशन गरौं भनेर हामीले भन्यौं । नियमित महाधिवेशनको सुरसार नै केन्द्रीय समितिले गरेन । हामीले केन्द्रीय कार्यालयमा दर्ता रहेको विशेष महाधिवेशनको माग पत्रलाई पुनर्जीवित गराएर विशेष महाधिवेशनतर्फ हामी अगाडि गइराखेका छौं,’– उनले बताए ।

विधानमा भएको व्यवस्थालाई नजरअन्दाज गर्न कांग्रेस सभापति शेरबहादुर देउवालगायत कसैले पनि नपाउने उनले बताए । पार्टीको विधानलाई पालना नगरेको खण्डमा अनुशासनहिनता बढेर जाने उनले बताए । उनले आफूहरु प्रजातन्त्रवादी रहेको बताउँदै प्रजातन्त्रवादीले विधान पालना गर्नुपर्ने बताए । देशभरीका महाधिवेशन प्रतिनिधिहरु पार्टी जोगाउनका लागि विशेष महाधिवेशनमा कम्मर कसेर आउने तयारीमा रहेको पनि उनले बताए । आफूहरु वचनको पक्का रहेको र बोल्ने मात्रै नभएर विशेष महाधिवेशन गरेर पनि देखाउने उनले बताए ।