काठमाडौं, २५ पुस । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । आज (शुक्रबार) घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । घिसिङ लामिछानेलाई भेट्न निवासमै पुगेका थिए । घिसिङ र लामिछानेबीच करिब २ घण्टा ‘वान टू वान’ वार्ता भएको बताइएको छ ।
वार्ताका क्रममा घिसिङले एकता प्रक्रियाबारे आफ्नो धारणा राखेको बताइएको छ । घिसिङले एकता प्रक्रिया सम्मानजनक नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराएका उनलाई उपसभापति बनाउने सहमति भएको छ । तर, घिसिङ अझैंसम्म रास्वपाको कुनै पनि कार्यक्रममा देखा परेका छैनन् ।
दलीय राजनीतिमा लागेर नागरिक सरकारका बसेको भनेर चर्का आलोचना र विरोध भएपछि घिसिङले मन्त्री पदबाट राजीनामा दिएका थिए । सभापति लामिछानेसँगको भेटमा घिसिङले एकता प्रक्रिया चाँडै टुङ्ग्याउन र उपसभापतिको जिम्मेवारी दिन दवाब दिएको बताइएको छ ।




प्रतिक्रिया