जय मातृभूमि पार्टीद्वारा प्रत्यक्षतर्फ उम्मेदवार आह्वान, देश लुट्न नदिनको लागि आफूहरू मैदानमा उत्रिएको अध्यक्ष कार्कीको घोषणा (भिडिओ–सहित)


काठमाडौं, २५ पुष । जय माभृभूमि पार्टीले २१ फागुनको लागि प्रत्यक्षतर्फ उम्मेदवारको आह्वान गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी एकीकरण घोषणामार्फत प्रत्यक्षतर्फको निर्वाचनको लागि उम्मेदवारसमेत आह्वान गरिएको हो । सो दलले अब सुशासन चाहने, देशको भलो चाहने र भ्रष्टाचार नगर्नेहरुलाई मात्रै सदनमा पुर्याउनुपर्ने अपिल गरेको छ ।

राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी, राष्ट्रिय सुरक्षा जागरण महाअभियान र समाज रुपान्तरण अभियानबीच एकता घोषणा गरिएको हो । जय मातृभूमि पार्टीको चुनाव चिन्ह भने आमा रहेको छ ।

जय मातृभूमि पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीले जन्म दिने आमा र जन्मभूमि देश स्वर्गभन्दापनि प्यारो हुने भन्दै आफ्नो मन्तव्य सुरु गरेका थिए । उनले अहिले आफू आराम गरेर बस्नुपर्ने बेला भएपनि देशमा भ्रष्टाचार बढेको, बेथिति बढेको र देशको सम्पत्ति लुटेर विदेश लगिएको भन्दै त्यसको खबरदारी गर्न आफूहरु राजनीतिमा होमिएको बताए । उनले देशको सम्पत्ति लुकाएर राखेको पनि देखिएको टिप्पणी गरे । देश लुटेकाहरुलाई अब लुट्न नदिनको लागि राजनीतिक मैदानमा आएको उनको उद्घोष छ ।

विशाल नेपाल महाअभियानका अभियन्ता तथा जय मातृभूमि पार्टीका सह–अध्यक्ष रामशरण पाण्डेले देशमा भएको बेथिति र भ्रष्टाचार अन्त्य गरेमात्रै देश बन्ने बताए । उनले अहिले देशमा संकट आएको र त्यसको निदानको लागि आफूहरु पार्टी एकीकरण गरेर अघि बढेको बताए । उनले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाईएको भन्दै यो रोक्नुपर्ने बेला आएको बताए ।

पार्टीका महासचिव गोविन्द गिरीले नेपाल आमालाईमनैदेखि माया गर्नेहरु एक हुनुपर्ने आवश्यकता औंल्याए । उनले भने,‘यो हाम्रो पार्टी यो देशलाई मनैदेखि, मुटुदेखि, वचनदेखि माया गर्छ, यो राष्ट्रवादी छ ।यो मुलुकको भलाईको लागि काम गर्न चाहेकाहरुबीच एकता हुनुपर्छ भन्छौं । जसले नेपाल आमाको मुहार उज्यालो भएको हेर्न चाहेको छ, ती सबैलाई एउटै झण्डामुनि ल्याएर आउनुर्प भन्ने पक्षमा छौं ।’

पार्टीका वरिष्ठ नेता तथा वरिष्ठ क्याप्टेन कुलबहादुर लिम्बुले भ्रष्टाचारबाट मुक्त भएकाहरुलाई प्रतिनिधिसभामा चयन भएर आउन् भनेर आह्वान गरेको बताए । उनी आगामी निर्वाचनमा सुनसरी–१ बाट चुनाव उठ्ने बताईएको छ ।

कार्यक्रममा कृषि तथा वातावरणविद् एवं नीति संयोजक रोमलाल गिरीले नयाँ र विकल्प दिन्छु भनेकाहरु र जेनजी आन्दोलन गराउनेहरु सबै मिलेको भन्दै बालेन, रवि र कुलमानहरुलक्षित टिप्पणी गरे । उनले भने,‘सडकबाट अब बजेट बनाउने कुरा गरिरहेका छन्, यसको पूराना पार्टी र आन्दोलनको बेस गराएको भनेर जिम्मा लिने पार्टीहरुबीच द्धन्द्धको अवस्था सिर्जना भएको छ । एक–अर्काले प्रतिरोध गर्ने अवस्था सिर्जना भएको छ ।’ उनले सारा नेपालीलाई एकजुट गरेर देशलाई समृद्ध बनाउन सकिने सम्भावना सुनाए । उनले देशभक्त, माटोभक्त, प्रकृतिभक्तलाई एक हुनपनि आह्वान गरे ।

जय मातृभूमि पार्टीका प्रथम उपाध्यक्ष धनबहादुर थापाले आफूहरुसँग विज्ञ, देशप्रेमीहरुको ठूलो संख्या रहेकोले देशको हितको लागि काम गर्ने बताए । उनले भने,‘यो पूर्व सुरक्षाकर्मीहरुको अगुवाईमा छ, यसमा असली देशभक्तहरुको पार्टी हो । अरु पार्टी सबैको घोषणापत्र एउटै छ, तर ग्राउण्डमा के गर्ने हो भने त्यो हामीले जान्न जरुरी छ ।’

कार्यक्रममा नेपाली सेनाकी पूर्व प्रमुख सेनानी चन्द्रकुमारी गुरुङले पार्टीको तर्फबाट वक्तव्य वाचन गरेकी थिईन् । उनले पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने भनेको पनि सुनाईन् ।

जेनजी युवा अभियन्ता तथा युवा मातृभूमि शक्ति नेपालका केन्द्रीय नेता ईश्वर पराजुलीले नेपाललाई सुशासनको मार्गमा डोर्याउनुपर्ने बताए ।उनले देशमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्नुपर्ने बेला आएको बताए । उनले नेपाल आमालाई बचाउने प्रण सबैले गर्नुपर्ने सुझाए ।

गोरखा–२ का उम्मेदवार तथा पूर्व उपरथी बाबुराम श्रेष्ठले उनले आफूहरु देशलाई निकास दिनको लागि राजनीतिमा होमिएको बताए । उनले आगामी निर्वाचनमा सक्षम र देशप्रेमीलाई निर्वाचित गराउन अपिल गरे । उनले निर्वाचनबारे लेखिएको आफ्नो गीतसमेत वाचन गरेका थिए । उनले सो क्रममा उनले राजनीतिलाई व्यापार बनाउन नहुने मत राखेका थिए ।

पार्टीका उपाध्यक्ष तुलराज बस्यालले पनि आफ्नो धारणा राखेका थिए । आजभन्दा ३६ वर्षअघि नेपाल जस्तो स्थितिमा थियो आज पनि त्यस्तै अवस्थामा रहेको तथ्य उनले सुनाए । यो ३६ वर्षको अवधिमा ३० पटक प्रधानमन्त्री फेरिएको र राजनीतिक अस्थिरताको कारण देश नबनेको उनका भनाई छ ।

उनले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएमात्रै देशमा स्थायित्व हुने बताए । सो अवसरमा डा. खेम क्षेत्रीले पनि आफ्नो धारणा राखेका थिए । उनले स्वदेशवाद, नेपालवाद अँगालेर देशलाई समृद्ध बनाउनुपर्ने बताए । उनले पार्टीले अघि सारेको घोषणापत्रलाई पालना गरिने बताए । नेपालको जल, जमिन, जनशक्ति र जडिबुटीलाई नेपालको हितमा सदुपयोग गर्ने भन्ने कुराको रोडम्याप रहेको उनको भनाई छ ।