काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका महासमिति सदस्य एवं १४औं महाधिवेशनका प्रतिनिधि डा.राजेश्वर कुशवाहले विशेष महाधिवेशनको पक्षमा आफ्नो किर्ते हस्ताक्षर गरिएको बताएका छन् । रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले सर्लाहीको निवर्तमान जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलगायतको टिमले आफ्नो हस्ताक्षर किर्ते गरेर पठाएको बताएका हुन् ।
‘विशेष महाधिवेशनको पक्षमा मैले हस्ताक्षर गरेको छैन । तर, मेरो हस्ताक्षर पनि छ रे । मेरो क्षेत्रीय सभापति वीरेन्द्र सिंह, सुरेन्द्र प्रसाद सिंहलगायतका टिमहरुले मेरो हस्ताक्षर पनि गरेको छ रे । म विशेष महाधिवेशन पक्षको होइन,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।
साथै, उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको महाधिवेशन विशेष नरहेर अविशेष रहेको उनको टिप्पणी छ । उनले यसलाई विशेष नामाकरण गर्न नसकिने बताए । ‘मैले यसलाई विशेष नामकरण गर्न उचित ठान्दिनँ । विशेष भन्ने कुरा यसमा केही छदैछैन । अवैधानिकबाहेक केही छदैछैन,’– उनले भने ।




प्रतिक्रिया