काठमाडौं, २६ पुस । नेकपा (एमाले) का नेता खगराज अधिकारीले प्रतिनिधिसभा पुनर्स्थापना नै अहिलेको उत्तम विकल्प रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दे नेता अधिकारीले अहिलेको समस्या समाधान संसद् पुनर्स्थापनाबाट मात्रै सम्भव रहेको बताएका हुन् । उनले भने, ‘संसद् पुनर्स्थापना सबैभन्दा उत्तम विकल्प हो । यो नै अहिलेको समस्या समाधानको उपाय हो ।’
निर्वाचन जनताको बीचमा जाने र संवाद गर्ने विषय भए पनि अहिले त्यो वातावरण नरहेको उनको भनाइ छ । नेता अधिकारीले अहिले उपद्रव र आतङ्कको अवस्था रहेको र निर्वाचनको वातावरण बन्नै बाँकी रहेको बताए । ‘पहिलो उत्तम उपायमा हामीलाई चित्त बुझ्दो ढंगले अदालतले कार्यसम्पादन गरेन भन्ने छ,’– उनले भने ।
साथै, उनले एमालेको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक परिघटनामा आफ्नो विचार राख्ने बताए । आजको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार तय गर्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए ।
उनले चुनाव लड्दा पनि एमालेले आफ्नै बल र तागतले चुनाव लड्ने बताए । कांग्रेस र एमालेबीच कतिपय कुरा मिल्ने बताउँदै उनले आवश्यक मात्रामा सुसम्बन्ध कायम गरिने बताए ।




प्रतिक्रिया