विशेष महाधिवेशनलाई नीति सम्मेलन वा संकल्प अधिवेशनको रुपमा अगाडि बढाउनुपर्छः नेता डा.भण्डारी


काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका नेता डा.चन्द्रकान्त भण्डारीले विशेष महाधिवेशनको नाममा पार्टी विभाजन हुन नदिने बताएका छन् । आज (शनिबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनलाई नीति सम्मेलन वा संकल्प अधिवेशनको रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले विशेष अधिवेशनलाई खुराकको रुपमा लिएर अगामी वैशाखको अन्तिममा हुने पार्टीको १५औं महाधिवेशनलाई सफल बनाउन उत्साहको साथ लाग्नुपर्ने बताए ।

‘पार्टी फुट्ने हो कि, टुक्रिने हो कि भन्ने छ । देशभरीका साथीहरुलाई हामी आग्रह गर्न चाहन्छौं– हामी कुनै पनि हालतमा यो पार्टीलाई विभाजन हुन दिँदैनौं । अहिले विशेष महाधिवेशनको नाममा देशभरीबाट साथीहरु आउनु भएको छ । हामी आग्रह गर्न चाहन्छौं– यसलाई नीतिगत सम्मेलन वा संकल्प अधिवेशनमा हामीले आउने साथीहरुलाई खुराक दिएर फेरि चार महिनापछिको महाधिवेशनमा आउनका निम्ति हामीले आग्रह गर्ने हो,’– उनले भने ।

विशेष अधिवेशनमा सबैले एकजुट भएर, आवेगमा नआई, निराशा नबोकेर पार्टीलाई एकजुट बनाएर अगाडि लगिने पनि उनले. विश्वास गरे । संस्थापन पक्ष एवं पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले पनि विशेष महाधिवेशनले आफ्नो ग्रहण गर्नुपर्ने उनले बताए ।